बिर्तामोड । 

अर्जुनधारा नगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले फागुन ११ गते बिर्तामोडमा ’यम बराल एकल सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ । 

प्याब्सन अर्जुनधारा नगरले झापाको बिर्तामोडमा बुधवार (आज) पत्रकार सम्मलेन गरी ’यम बराल एकल सांगीतिक साँझ’ को तयारीको बारेमा जानकारी दिएको हो । 

अर्जुनधारा नगर प्याब्सनले कला तथा संगीतको जर्गेना साथै मनोरन्जानत्मक साँझ बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको प्याब्सनका नगर सचिव राजेश आचार्यले बताए । 

 बिर्तामोडको सिटी सेन्टरमा हुने यम बराल सांगितिक साँझमा मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती रहने प्याब्सनका जिल्ला सदस्य सुमन शर्मा जमरकट्टेलले बताएका छन् । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । 

सोही कार्यक्रमकाबिच अर्जुनधाराका फिफा रेफ्री श्याम दनुवार र गायिका मेनुका पौडेललाई अभिनन्दनसमेत गरिने आयोजकले जनाएको छ । 

गायक बरालले शिक्षा र संगित एक अर्काबीच परिपुरक रहेकाले निजी बिद्यालयहरुको संस्था प्याब्सनले सांगीतिक कार्यक्रम गरेर सकारात्मक सन्देश दिएको बताएका छन् । कार्यक्रममा गायक बरालको दुई घण्टाको प्रस्तुति रहने उनले बताए । कार्यक्रममा नृत्य र गायन दुबै हेर्न र सुन्न सकिने बरालले बताएका छन् । गिटारिष्ट विशाल बुढाथोकीको संयोजनमा हुन लागेको उक्त कार्यक्रममा बरालले १५ देखि २० वटासम्म गीत प्रस्तुत गर्नेछन् । 

प्याब्सन अर्जुनधारा नगर अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सनका नगर उपाध्यक्ष टिआर गौतम, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ, जिल्ला सदस्य दिपेन्द्र सुब्वा, नगर कोषाध्यक्ष राजेन्द्र वाग्लेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अनुमानित तीन लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।