झापा । 

झापाको मेचीनगर–६ बाट छुट्टाछुट्टै समयमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । झापाको मेचीनग–६ मेचीपुलमा बिहीवार साँझ लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेका दमक–५ यलम्बर चौक २४ बर्षिय सागर खडकालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । उनलाई शंका लागि  चेक जाँच गर्दा जिन्स पेन्टको अगाडि दाहिने पट्टीको गोजी भित्र सेतो रंगको प्लाष्टिकले पोका पारेर लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोइन १ ग्राम फेला परेको थियो । 

त्यसैगरी मेचीपुलमा नै पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेका मोरङको उर्लाबारी–७ शान्ति टोलका  २९ बर्षिय सन्तोष तिम्सिना र भारतको दार्जिलिङ गन्डागल खरीबारी दुलाल जोत बस्ने ३९ बर्षिय विकास निरौलालाई पक्राउ खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिम्सिनाको साथबाट २१० ग्राम र निरौलाको २ ग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।