बिराटनगर।

मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिराटनगर–९ का ३३ बर्षीय जिवन तामाङ र खाँदबारी नगरपालिका–७ संखुवासभाका २८ बर्षीय हिरालाल बिश्वकर्मालाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

सोहि दिन  मिक्लाजुङ गाउँपालिका–९ का ३० बर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका–५ का २४ बर्षीय रमेश सिंह लिम्बुलाई १ ग्राम १८ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

बिराटनगर- १५ बाट प्रतिबन्धित औषधी Codiwell Cough Syrup २ बोतल, Nitrovet-१० र SPASMO- २४ ट्याप्लेट सहित ईटहरी- ४ का ४० बर्षीय खेमराज श्रेष्ठ र  ईटहरी- ८ का ४६ बर्षीय पंकज सिंहलाई पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा- २ का २४ बर्षीय सुरेन्द्र बस्नेतलाई डाईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी सहित शुक्रवार पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।