उदयपुर । 

उदयपुरको दुई छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सवा ७ बजे बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका–८ कोठु स्थित कोशी पुल नजिकै आउँदै गरेका सुनसरीको कोशी गाउँपालीका–५ श्रीपुरका २१ बर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा उनको साथबाट २० ग्राम ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको  थियो ।

यसका साथै चेकजाँचमा खटिएको प्रहरीको सोही टोलीले १६ ग्राम ४७० मिलि ग्राम लागूऔषध ब्राउन सुगरसहित सप्तरीको कंकालिनी नगरपालिका–१ का २७ बर्षीय बेचन मण्डल र ३२ बर्षीय जितेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका–१ आम्वासी स्थितबाट प्र.२–०१–००१ प. ४९५० नम्बरको मोटरसाईकलमा फत्तेपुरबाट उदयपुरको रामपुतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।