दमक । 

 झापाको दमक १ कुमाल चोकस्थित एक होटलमा चारदिन अघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुलाचुली ३ का ३८ बर्षिय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक ७ सयपत्री टोलका २२ बर्षिय सनम राईसहित अन्य फरार थिए ।

सोमबार(आज) दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टपुस्थित एक घरमा मोटरसाईकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय दमकमा आजै पत्रकार सम्मेलन गरी झापाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक १ स्थित नवदुर्गा टोलका २२ बर्षिय आनन्द भनिने २२ बर्षिय राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ बर्षिय रोहन भनिने सवास आलमलाई पक्राउ गरिएको जानकारी दिए  । मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । मुख्य आरोपी राई, भुजेल र आलमलाई हत्याका पीडितको स्थायी ठेगाना इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ समेतको उपस्थितीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

उनीहरुले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समुहले मदिराले लठठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले हत्याको घटनामा प्रयोग भएको छुरा (हतियार) विराटनगरमा रहेको प्रारम्भ्कि बयानबाट खुलेपछि सो हतियार समेत त्यहाँस्थित प्रहरीसँगको समन्वयमा प्रहरीले बरामद गरी दमकतर्फ ल्याउने प्रकृया चलिरहेको जानकारी दिए ।

दमकमा असोज १२ गतेको बिहान ४ बजेको समयमा सो घटना गराएर फरार भएका मुख्य अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक डम्बर विश्वकर्माको कमाण्ड, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरिक्षक रुद्र खडकाको कमाण्ड र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले खोजी तथा अनुसन्धान गरी फेला पार्न सफल भएको जनाईएको छ ।

 प्रहरीले यसअघि सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।