मेचीनगर।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसरमा चारवटा विधाका व्यक्तित्वहरुलाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानको हालै बसेको सञ्चालक समितिको वैठकले भानु प्रतिभा पुरस्कारबाट खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री र सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी भूमिका फ्याक लिम्बुलाई पुरस्कृतसहित सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रतिष्ठान अन्तरगत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्य तर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रबर्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गर्ने निर्णय गरिएको कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित हुने खेलकुद क्षेत्रकी रुविनालाई २१ हजार र अन्य तीनजना व्यक्तित्वहरुलाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिने उनले बताए ।

उक्त पुरस्कारहरु यहि असार २९ गते भानु जयन्तीको अवसरमा काँकरभिट्टा क्याम्पसको सभाहलमा आयोजना हुने कवि गोष्ठी कार्यक्रममा प्रदान गरिनेछ । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती केहि समयका लागि क्यानेडा जानु भएकाले यसपटक भानु जयन्ती मेचीनगरस्तरीय गरिने भएको कार्यावाहक अध्यक्ष घिमिरेले बताए ।