काँकडभिट्टा । 

होटल हिकोला हेरिटेजको तीन दिवसीय वार्षिकोत्सव कार्यक्रम बिहीवारदेखि झापाको काँकडभिट्टामा शुरु भएको छ । भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकलाई बाजागाजा र नाचगानसहित स्वागत गर्दै होटल हिकोलाले वार्षिक कार्यक्रमको सुरुवात गरेको हो । 

२०७६ माघ २६ गते स्थापना भएको होटल हिकोला हेरिटेजको यो तेस्रो वार्षिकोत्सव हो । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए । उद्घाटनलगत्तै कोरोना संक्रमण बढेपछि पूर्ण सञ्चालनमा नआउँदै होटल बन्द भएको थियो ।  

होटल परिसरमा आयोजित समारोहका बीच प्रदेशसभा सदस्य गोपाल तामाङले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटनपछि होटल व्यवस्थापन लाखे नाचसहितको सांस्कृतिक टोली लिएर नेपाल भित्रिने पर्यटकको स्वागत सत्कारका लागि मेची पुल पुगेको थियो । 

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको होटलले अतिथि पाहुनालाई सीमा नाकामा पुगेर स्वागत गरेको सञ्चालक देवीभक्त श्रेष्ठले बताए । व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठ आफैँ नाचगानसहित नेपाल भित्रिने पर्यटकको स्वागतका लागि सीमा नाकामा पुगेका थिए । 

साहित्य चौतारीका कलाकर्मीसहितको टोली पनि स्वागत कार्यक्रममा सहभागी भएको थियो । चौतारीका संरक्षक उर्मिला विमली र अध्यक्ष हस्त परियारसहितको टोली कार्यक्रममा सहभागी भएको हो । जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का र एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई पनि कार्यक्रममा सहभागी थिए । 

कार्यक्रममा शुभकामना व्यक्त गर्दै मेचीनगरका पूर्व मेयर विमल आचार्यले पर्यटनको महत्व बुझेर होटलका सञ्चालक श्रेष्ठले समाजलाई मार्गदर्शन गरिरहेको भन्दै प्रशंसा गरे । कार्यक्रमको पहिलो दिन सरोकारवालाले पर्यटनको महत्वका विषयमा छलफल गरेका छन् । 

वार्षिकोत्सवलाई संगीतमय बनाउने उद्देश्यले पहिलो दिन गायक यम बरालको एकल गायन भएको होटलका प्रवन्ध निर्र्देशक गौरव श्रेष्ठले बताए ।  शुक्रवार गायक नाम्गेल तामाङ र कृपा पौडेलको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । गायक तामाङ नेपाल आइडल सिजन चारका फस्ट रनरअप हुन् । त्यसैगरी गायिका पौडेल सारेगमप लिटल च्याम्पकी विजेता हुन् ।

तीन दिने साङ्गीतिक साँझको अन्तिम दिन अर्थात माघ २८ गते गजलकार रोदनको एकल गजल वाचन कार्यक्रम रहेको साहित्य चौतारी झापाकी मासिक सांगीतिक काव्यसभा संयोजक सुनिता तामाङले बताइन् ।