बिर्तामोड ।
लोकतान्त्रिक आन्दोलनका योद्धा तथा आदिवासी नेता तुर्षा हेमरमको २६ औं स्मृति दिवसको अवसर पारेर विविध कार्यक्रम गरिएको छ । झापाको कनकाई नगरपालिका वडा नम्बर १ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २६ औं स्मृति दिवसको अवसर पारेर हेमरमको शालिक अनावरण गरेको छ ।
प्रतिष्ठानले बुधवार (आज) स्मृति दिवसमा लोकतान्त्रिक आन्दोलनका योद्धा तथा आदिवासी नेता तुर्षा हेमरमको शालिक अनावरण गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति तथा सांसद धनराज गुरुङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले हेमरमको शालिक अनाबरण गरेका हुन् ।
स्वागत प्रतितष्ठानकी उपाध्यक्ष टिका मैनाललीले गरेको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापा, कांग्रेसकी केन्द्रिय सदस्य सुशिला ढकाल, कांग्रेसका झापा सभापति देउकुमार थेबे, पूर्व सांसद तथा कांग्रेसका अग्रज नेता डिल्ली सिटौला, संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेता विश्वदीप लिङ्देनलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गरेका थिए ।
कार्यक्रममा आदिवासीहरुले विभिन्न खेल तथा प्रतियोगितासहित सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच तीर, धनुष काँड खेलसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा खड्ग रायमाझीको रचना, संगीत तथा स्वर रहेको ‘हेरन सहिद’ बोलको गीत मुख्य गायक र नेपाली कांग्रेसका कनकाई नगर उपसभापति सन्तोष रायमाझीले गाएका थिए ।
कार्यक्रममा झापासहित बिभिन्न जिल्लाका पालिकाका आदिवासी नेता, राजनीतिक दल, तथा आदिवासीहरु साथै बिभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।