बाहुनडाँगी ।
बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानको बाटो पहिचान गर्न संघीय सांसद इन्दिरा राना मगर र निसा डाँगी बाहुनडाँगी पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित संघीय सांसद इन्दिरा राना मगर र निसा डाँगीसँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला वन कार्यालय झापा डेफू, मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, राष्ट्रिय स्वतन्त्रपार्टीका जिल्ला सभापति उमेश खरेललगायत नगरका प्रतिनिधि र सञ्चारकर्मीहरुले हात्ती प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
स्थलगत अध्ययनपछि दिगो रुपमा समस्या समाधानको लागि सवै क्षेत्रको पलकदमी आवश्यक रहेको सहभागिहरुले जनाएका छन् । सांसद डाँगी र मगरले बाहुनडाँगीवासीको पीडालाई आफूहरुले बुझेको र दिगो रुपमा हात्ती समस्या समाधानमा आफूहरु लाग्ने प्रतिवद्वता व्यक्त गरे । हामी कुरामा भन्दा पनि काममा विश्वास गर्छौ । सांसद डाँगीले भनिन् ,‘मैले हात्तीको समस्या सुनेको वर्षौ भयो अव यसको दिगो समाधानको लागि हामी पहल थाल्छौं ।’ झापाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले यस विषयमा गम्भीर हनुपर्ने उनको भनाई थियो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले संघीय, प्रदेश सरकार र जिल्ला वन कार्यालयले स्थानीय सरकारसँग सहकार्य नगर्दा हात्ती नियन्त्रको लागि प्रभावकारी काम हुन नसकेको बताए । हात्ती नियन्त्रणको लागि तत्काल सोलार फेन्सीङको मर्मत, बाटो निर्माण गर्ने तथा सडकमा बत्ती जडान गर्दा हात्ती नियन्त्रण हुने बताए । नगर प्रमुख बुढाथोकीले दिगो रुपमा हात्ती नियन्त्रण गर्न पर्खाल निर्माण गर्नु पर्ने बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय सरकार र वन कार्यालयले हातेमालो गरेर यस किसिमको समस्या हल गर्नु पर्ने बताए । तत्काल दीर्घकालिन समस्या समाधान नहुन सक्छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘पर्खाल तथा ड्याम निर्माण ठूलो योजनाको काम हो । त्यसको लागि विषय विज्ञहरुसँग बसेर छलफल गर्नू पर्छ तत्काल सोलार फेन्सिङको मर्मत गर्न ससदले सहजीकरण गर्नु भएको थियो ।
जिल्ला वन कार्यालय झापाका डेफूले हात्ती नियन्त्रको लागि जिल्लाभर बिभिन्न काम अघिबढाएको बताए । उनले बाहुनडाँगीको लागि समेत बजेट जिल्ला वन कार्यलयले बजेट छुट्याएकोले सम्झौता गरेर काम थाल्न समितिलाई आग्रह गरे । सो अवसरमा मेचीनगर ४ नम्बर वडाध्यक्ष अर्जुन कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती लगायतले हात्तीले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति उमेश खरेलले गरेका थिए भने सचिव प्रकाश पाठकले बाहुनडाँगीमा हात्तीले पुर्याएको क्षतिको बारेमा अवगत गराएका थिए ।