बिर्तामोड । 

साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । 

मासिक सांगीतिक काव्यसभाको अवसरमा गायक तथा संगीतकार बलराम राजवंशीलाई विशिष्ट प्रतिभा सम्मानद्वारा सम्मान गरिने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । कार्यक्रममा संस्थाका कला विधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङको विशेष प्रस्तुति रहनेछ । नेम्वाङ पत्थर पगाल्ने मूर्तिकलाका अग्रज हुन्  । 

साहित्य संगीत र कलाका नियमित कार्यक्रम पनि राखिएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म मासिक सांगीतिक काव्यसभा हुनेछ । सोही दिन ५ बजेदेखि स्वर सम्राट नारायण गोपालको ३२ औँ स्मृति साँझ कार्यक्रम आयोजना गरिएको छ । 

विशिष्ट गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा लामो समयदेखि साहित्य, संगीत र कलाको क्षेत्रमा अनरवत सक्रिय प्रतिभा कर्म योजनलाई अभिनन्दन गरिनेछ । 

चार दशकदेखि भाषा, कला र साहित्यको श्रीवृद्धिमा संलग्न जीवन अधिकारी र विष्णु अधिकारीलाई दीर्घ साधना सेवा सम्मान प्रदान गर्ने निर्णय भएको साहित्य चौतारीका संरक्षक श्रेष्ठले जानकारी दिए ।कार्यक्रममा नारायण गोपालका कालजयी गीत गुञ्जने छन् । विष्णु अधिकारीको एकल प्रस्तुतिले कार्यक्रम थप आकर्षक र संगीतमय बन्ने अपेक्षा गरिएको छ । 

नारायण गोपाल स्मृति साँझमा जिल्लास्थित प्रशासन तथा सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, भाषा,कला र साहित्यका प्रतिभा, सष्टा तथा सर्जकलाई आमन्त्रण गरिएको छ ।