झापा ।
आइतवार (भोली) बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानका लागि झापामा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि झापाका ५ बटै निर्वाचन क्षेत्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको आयोगले जनाएको छ ।
निर्वाचनलाई विश्वसनीय र व्यवस्थित रुपमा सम्पन्न गर्न आचारसंहिताको पालनामा सवैले जोड दिनु पर्ने झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन सम्पन्न गर्न मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।
झापामा ७६६ वटा स्थायी मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरेर ७६८ मतदान केन्द्र रहेका छन् । निर्वाचन सम्पन्न गर्न झापामा करिब ७००० स्थायी कर्मचारी र ४८०० स्वयम सेवकहरुको टोली आवश्यक सामाग्रीसहित मतदान केन्द्रमा परिचालन गरिसकेको आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न गर्न झापामा २०८२ जना प्रहरी कर्मचारी खटिइएको र अपुग जनशक्ति थप मद्दत आएको झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले बताएका छन् । उनले सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाएको समेत बताए । त्यस्तै झापामा ३४६२ जना म्यादी प्रहरी रहेको र प्रत्येक मतदान केन्द्रमा कम्तिमा २ जना महिला म्यादी प्रहरी रहने ब्यवस्था गरिएको जनाइएको छ ।
शुक्रवार बिर्तामोड सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताइएको हो ।