•  तपाई कुनै सार्वजनिक पदमा हुँदा गरेका राम्रा कामहरु केके हुन् ?

–अहिलेसम्म कुनै सार्वजनिक पदमा रहेर काम गर्ने अवसर पाएको छैन । जे जति गरेको छु, पार्टी संगठनमा रहेर काम गरेको छु ।

  • माओवादी पार्टीसहित तपाईंका एजेण्डा के के हुन् ? 

–प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति, राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था । पूर्ण समानुपातिक निर्वाचन प्रणाली । मजदूर र किसानहरुको संसदमा सहभागिता कम्तीमा १० प्रतिसत प्रतिनिधित्व सुनिश्चित गरिने । भुमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीलाई लालपुर्जा र आवासको प्रबन्ध गरिने । विजय भइसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा हरेक महिनामा हरेक वडामा उपस्थित हुने । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन क्षेत्रमा विज्ञहरुसँग परामर्श गरी अघि बढ्ने । चिया तथा सम्पूर्ण क्षेत्रका मजदुरहरुको निमित्त न्यायोचित सेवा सुविधाको लागि पहल गरिने । व्यवस्था परिवर्तनमा भएका विभिन्न अन्दोलनहरुमा शहिद, घाइते, बेपत्ता भएकाहरुको उचित संम्मानसहित सम्बोधन गरिने । महिला सशक्तिकरणका निमित्त प्राथमिकताका साथ बजेट विनियोजन गरिनेछ । यस्तै, स्थायी तथा दिगो खानेपानी तथा सरसफाइका लागि स्रोतहरुको पहिचान गरी व्यवस्थित एकीकृत खानेपानी योजना अगाडि बढाइनेछ । हँडिया, टिमाई, निन्दा खोला आदिमा आवश्यक तटबन्धन निर्माण गरिनेछ । हात्ती प्रभावित क्षेत्रहरुमा प्रकोप न्यूनीकरण गर्नका लागि विज्ञहरुको परामर्शसहित योजना अघि बढाइनेछ ।

  • तपाईंको आफ्नो क्षेत्रका समस्याहरु केके छन् ?, जितेमा तिनको समाधानका लागि कसरी अगाडि बढ्ने योजना छ ?

–विद्यमान हात्ती समस्याको वैकल्पिक मार्गहरुको अध्ययन र विज्ञहरुसँग समन्वय गर्दै ठोस योजना ल्याइनेछ । संरक्षणको अभावमा रहेका ऐतिहासिक धार्मिक क्षेत्रहरुको संरक्षणका प्रवद्र्धनका लागि पहल गर्ने । आदिवासी जनजातिहरुको भाषा, लिपी र संस्कार संरक्षण गर्दै प्रवद्र्धन गर्ने । ग्राबेल तथा कालोपत्रे सडकको स्तर उन्नति र मर्मत गरिने । यस क्षेत्रका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दिर्घकालीन रुपमा समस्या समाधान गर्ने । स्वच्छ तथा सर्वसुलभ खानेपानीको वितरण गरिनेछ । कृषि क्षेत्रमा प्रयोग भइरहेको रसायन मलहरुको न्यूनीकरण गर्दै जैविक खेती प्रणालीमा आकर्षित गर्ने कार्यक्रम गरिनेछ । यस क्षेत्रका सम्पूर्ण विद्यालयहरुमा व्यावहारिक शिक्षा लागू गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न योजनाहरु ल्याइनेछ । विद्यमान बेरोजगारीको समाधानको लागि स्थानीय स्तरमा रहेका घरेलु तथा मझौला उद्योगहरुलाई संरक्षण गर्दै थप व्यावसायिक प्रकृतिका व्यवसाय खोल्न प्रोत्साहित गरिनेछ । स्थानीय स्वास्थ्य इकाइहरुलाई अझ बढी प्रभावकारी सेवा प्रधान गर्न आधुनिक स्वास्थ्य उपकरण जडान गरी स्वास्थ्य इकाइहरुको अभिवृद्धि गरिनेछ । लागुऔषध र दुव्र्यसनी न्यूनीकरणको लागि स्थानीय क्लब तथा संघ संस्थाहरुसँग समन्वय गरेर जनचेतना फैलाउने विभिन्न कार्यक्रम ल्याइनेछ ।

  • तपाईंलाई किन मत दिने ?

–विगतमा व्यवस्था बदल्न अब यस निर्वाचन क्षेत्रको अवस्था बदल्न, युवाहरुको मनोभावनालाई समेट्ने उम्मेदवार भएकाले वृद्धहरुको प्रेम, आफ्ना सहयोद्धाहरुको सप्रेम र भाइबैनीहरुले माया गर्ने उम्मेदवार भएकाले, निरन्तर जनतामा समर्पित जनभावनालाई कदर गर्ने, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले निष्कलंक भएको व्यक्ति त्यसमाथि म एक सामान्य परिवारको सरल स्वभावको कोही कसैलाई नकारात्मक नसोच्ने, सामाजिक घटनामा आफु बसेर सबैको भलोमा अभिव्यक्ति दिँदै तथा यस क्षेत्रका सर्वांगीण विकासका लागि अल्पकालीन र दिर्घकालीन योजनाहरु रहेको र सबैको मनमस्तिष्कमा बसेका व्यक्तिलार्ई मत नदिनुको कुनै कारण नै छैन ।

  • आम जनताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 

–मतदाताहरुको अपार माया र साथ समर्थन व्यापक रुपमा घरदैलो कार्यक्रम गरिरहेको छु । मभन्दा राम्रो उम्मेदवार नभएको जानकारी दिनुहुन्छ । मेरो प्रतिद्वन्द्वी नै गणतन्त्र विरोधी पार्टीका भएकाले मेरो विकल्पमा विपक्षी उम्मेदवारलाई मत नदिने विश्वास दिलाउनु हुन्छ । परम्परागत रुपमा चल्दै आएको जनताको समस्या भोट माग्दा घरघरमा आउने जितेर गएपछि अरु दिन बेखबर हुने यो प्रवृत्तिलार्ई तपार्इंबाट अन्त्य हुनेमा विश्वस्त हुनुहुन्छ । यस क्षेत्रमा भएका विभिन्न समस्याको समाधानको लागि म जितेर गएपछि सो समस्याको सामाधान हुनेछ भन्ने कुरामा ढुक्क छु ।

  •  चुनाव जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? 

–म यस क्षेत्रमा चुनाव जित्नुको मुख्य आधार यस क्षेत्रका मतदाताहरु गणतन्त्रमा विश्वास र आस्था राख्छन् । मेरो प्रतिद्वन्द्वी गणतन्त्र विरोधी भएकाले म चुनाव जित्छु भन्ने बिषयमा ढुक्क छु । त्यसमाथि लोकतान्त्रिक प्रगतिशील गठबन्धनको पकट भएका यस निर्वाचन क्षेत्र हो । मैले चुनाव त जितिसकेको छु, यति मात्र हो । हामी गठबन्धनमा एकढिक्का भएर लागेको छौँ, त्यसैले अत्यधिक मत पाएर जित्नेमा विश्वस्त छु ।