बिर्तामोड । 

क्षितिज नाट्य प्रतिष्ठानद्धारा निर्मित झापा नाटक घर निर्माण सहयोगार्थ झापाको बिर्तामोडमा नाटक ‘मालिनी’ प्रदर्शन हुने भएको छ । 

जेनियस मिडिया बिर्तामोड–५ को आयोजनामा आगामी कार्तिक १८ गतेदेखि २४ गतेसम्म नाटक प्रदर्शन हुने मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । भारतका साहित्यकार रबिन्द्रनाथ ट्रेगोरद्धारा लिखित एकसय बर्षअघिको नाटक मालिनी प्रदर्शन हुन लागेको जनाइएको छ । 

निर्माणाधीन झापा नाटक घरलाई थप निर्माणकार्यमा सघाउने उदेश्यका साथ  प्रदर्शन हुन लागेको नाटक ‘मालिनी’ नाम्लो नाटक समूहका कलाकारहरूले मञ्चन गर्न लागेका हुन् । साहित्यकार रविन्द्रनाथ टेगोरले लेखेको नाटकलाई यस अघि विभिन्न स्थानमा प्रर्दशनी गरिएको थियो । अन्तराष्ट्रिय नाटक प्रतियोगितामा दोस्रो स्थानमा पर्न सफल भएको नाटक ‘मालिनी’ कृतिलाई  बिर्तामोडमा भने सुदीप जंग कार्कीको निर्देशन रहने छ ।

१ करोड रुपैयाँ सरकारको तर्फबाट र ५० लाख रुपैयाँ एक व्यक्ति एक इँटा अभियानबाट संकलन भएको नाटकघरलाई पूर्णता दिन अझै १ करोड रकम आवश्यकता झापा नाटक घर निर्माणका अभियन्ता माधव कल्पितले बताए ।  प्रतिष्ठानले यसअघि पर्खाल, लाटीको छोरो र वर्वरिक नाटक सफलता पूर्वक प्रर्दशनी भएको थियो । 

७ दिनको अवधिभर दैनिक ३ देखि ४ पटक सम्म नाटक मञ्चन गरेर जम्मा २१ पटकसम्म नाटक प्रर्दशनी गरिने जनाइएको छ । नाटक मञ्चनका लागि करिव ८ देखि १० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ भने नाटकबाट १२ देखि १५ लाख रुपैयाँ संकलन गरिने लक्ष्य राखिएको जनाइएको छ ।  खर्च कटाएर बचेको रकमबाट नाटक घरमा पर्दा, लाईट लगायतका सामाग्री खरिद गर्ने नाटक प्रर्दशनीका संयोजक सुजन शिवाकोटीले जानकारी दिएका छन् । 

जेनियस मिडियाका निरज पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत ताराप्रसाद भट्टराईले गरेका थिए । नाटको विशेष सो कार्तिक १७ गते हुने बताइएको छ । बिभिन्न माध्यमबाट सामाजिक विकास र रुपान्तरण र सामाजिक सेवा गर्दै आएको जेनियस मिडियाले सामुदायिक कुकुरको संरक्षण गर्दै आएको छ । लकडाउनका समयमा सामुदायिक कुकुरलाई खानासमेत खुवाएकोे जेनियस नाटक मालिनी मञ्चनका लागि आयोजकको भुमिका निर्वाह गरेको छ ।