बिर्तामोड । 

साहित्य चौतारी झापाले शुभ दीपावलीको अवसर पारेर दक्षिणारहित सामूहिक सडक देउसी खेलेको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित साहित्य चौतारीले बिर्तामोडमा सडक देउसी खेलेको हो ।

नेपालीको मौलिक परम्परा जोगाई राख्न दक्षिणारहित सामूहिक सडक देउसी खेलिएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । साहित्य, कला, संगीत र संस्कृतिको संरक्षणमा जुटेको साहित्य चौतारीले २०५८ सालदेखि हरेक वर्ष दक्षिणारहित सामूहिक सडक देउसी खेल्दै आएको संरक्षक श्रेष्ठले जानकारी दिए ।

परम्परागत शैलीमा देउसी भैलो खेल्ने चलन हराउँदै गएको अवस्थामा साहित्य चौतारीले लेखक तथा पत्रकार, कलाकार र सर्जकलाई जम्मा पारेर सडक देउसी खेलिएको साहित्य चौतारीका अध्यक्ष हस्त परियारले बताए ।

परम्परागत कला संस्कृति जगर्नामा साहित्य चौारीको भूमिका प्रशंसनीय रहेको पूर्व सांसद पवित्रा निरौलाले बताइन् । सडक देउसीमा प्रमुख आतिथ्य ग्रहण गरेकी निरौलाले पश्चिमा संस्कृति भित्रिन नदिन युवा पुस्ता सचेत हुनुपर्ने आवश्यकता पनि औँल्याइन् ।

सडक देउसी सुरु हुनु अघि डा। पून्यप्रसाद सिग्देलले देउसीको पौराणिक महत्व र अहिले भइरहेको संस्कृति माथिको हस्तक्षेप लगायतका विषयमा प्रकाश पारेका थिए ।  परम्परागत बाजा संरक्षण अभियानमा जुटेका महिला समूहले सडक देउसीमा उल्लेखनीय साथ दिएका छन् । साहित्य चौतारीको रचनात्मक अभियानमा पूर्वेली र सिंहबाहिनी महिला समूहको सहयोग रहँदै आएको छ ।

सडक देउसीपछि हिकोलामा मासिक साङ्गीतिक काव्यसभा

सडक देउसीपछि साहित्य चौतारीले होटल हिकोला हेरिटेजमा मासिक साङ्गीतिक काव्यसभा एवम् तिहार विशेष कार्यक्रम आयोजना गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीलाई समेत चौतारीले काव्यसभाको रुप दिएको हो ।

साहित्यकार लीला अनमोलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ठूलो संख्यामा स्रष्टा सर्जक उपस्थित भएका थिए । कार्यक्रममा साहित्य चौतारी परिवारका तर्फबाट संरक्षक देवीभक्त श्रेष्ठ, जीवन जगदीश धिताल, टीका भट्टराई लगायतले स्वागत गान प्रस्तुत गरेका थिए । सिंहबाहिनी महिला समूहको नौमती बाजासहितको टोली पनि कार्यक्रममा सहभागी थियो । कार्यक्रम मासिक साङ्गीतिक काव्यसभाकी संयोजक सुनिता तामाङले सञ्चालन गरेकी थिइन् । 

कार्यक्रममा साहित्यकार विवश बलिभद्र कोइरालाको विशेष प्रस्तुति थियो । कोइरालाले प्रेमिल खालका गजल प्रस्तुत गरेर कार्यक्रमलाई अझै रोमाञ्चक बनाए । तिहार विशेष कार्यक्रमको निर्णायकमा साहित्यतर्फ दिलिप घिमिरे, संगीततर्फ गायक बिजय दंगाल र कलातर्फ छमछमी बिजेता अनुजा अग्रवाल रहेका थिए ।

कार्यक्रममा गायततर्फ भद्रपुरकी कृषा थपलिया उत्कृष्ट भइन् । नृत्यमा प्रसिका र अंकिताको समूह उत्कृष्ट भयो । कवितातर्फ प्रकाश गौतम उत्कृष्ट भए । कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई संरक्षक उर्मिला बिमली श्रेष्ठ, अध्यक्ष हस्त परियार लगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका छन् ।