ताप्लेजुङ । 

ताप्लेजुङमा आगामी असोज ११ देखि १३ गतेसम्म महोत्सव हुने भएको छ ।  धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने भएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा महोत्सव सञ्चालन समितिले धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्ने जनाएको छ । 

म्याराथन भने सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट शुरु भएर काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ । महोत्सवमा खुला म्याराथन तोक्मेबाट शुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ ।

कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्रा गरिने छ  । साथै कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट (सिरानी बोकेर फाइट खेल्ने), हाडी फुटाइ, मेयर कप भलिबल प्रतियोगिता शुरु, लोक सांस्कृतिक कार्यक्रम गरिने समितिका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिएका छन् । 

नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।  महोत्सवको अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया, खाद्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनीलगायतका कर्यक्रम आयोजना गरिने छन् । महोत्सव सञ्चालनका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।