बिर्तामोड । 

 साहित्य चौतारीको शनिवार (आज) को मासिक साङ्गीतिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित हुने भएको छ । घिमिरेको दोस्रो स्मृति दिवसलाई साहित्य चौतारीले विशेष रुपमा मनाउन लागेको हो । साहित्य चौतारी स्थापनाकालको पहिलो प्रमुख अतिथि राष्ट्रकवि घिमिरे थिए । घिमिरेको बाहुलीबाट उद्घाटन भएको साहित्य चौतारीले स्थापनाको २३ औँ वर्षमा राष्ट्रियस्तरका प्रतिभा जन्माइसकेको छ । 

‘साहित्य चौतारीको श्रीवृद्धिमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय छ’, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘हाम्रो शनिवारको मासिक सांगीतिक काव्यसभा उहाँको स्मृतिमा समर्पित हुनेछ ।’ सांगीतिक काव्यसभामा गायक चेतन चुडाललाई ‘सांगीतिक प्रतिभा सम्मान’ प्रदान गरिने संरक्षक श्रेष्ठले जानकारी दिए । गीत संगीतमा चुडालले दिएको योगदानको कदर गर्दै साहित्य चौतारीले उनलाई उक्त सम्मान प्रदान गर्न लागेको हो । 

शनिवारको काव्यसभामार्फत चौतारीले साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले बालप्रतिभा छनोट गर्नेछ । छनोट भएका बाल प्रतिभाबीच भदौ २९ गते प्रतिस्पर्धा हुने र उत्कृष्टलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने संरक्षक श्रेष्ठले बताए । ‘सिर्जनामा बालप्रतिभालाई प्रोत्साहित गर्दै लैजाने नीति अनुसार साहित्य चौतारीले उनीहरुबीच प्रतिस्पर्धा गराउन लागेको हो’, संरक्षक श्रेष्ठले भने । चौतारी हरेक सांगीतिक काव्यसभामा उत्कृष्ट भएका बाल प्रतिभालाई पनि पुरस्कृत गर्दै आएको छ ।