• बासु दुलाल 

 झापा । 

आदरणीय, प्रिय ब्यक्तित्व डा. बाबुराम भट्टराई ज्यु हार्दिक नमस्कार ! आराम छु र आरामको कामना ब्यक्त गर्दछु । निक्कै लामो समय भयो तपाईंसँग भेट्घाट छलफल र तपाइका मर्मस्पर्शी बिचारहरु सुन्न नपाएको । निकै अगाडि जतिबेला तपाइले कम्युनिष्ट आन्दोलन छोडेर नयाँ शक्ति निर्माण गर्न पार्टी खोल्नु भयो ।  उ बेला शुुभकामना दिएको थिए र संग संगै ‘असफलताको गोरेटो यात्रामा बाबुराम’ लेख लेखेको थिए । त्यसपछि तपाइलाई आजसम्म न गाली न ताली केही केहि भनिन किनकि तपाईंलाई कमरेड भन्न सकिएन लालसलाम  भन्न सकिएन ।

डा. साब मन गरुङो र भारी छ  लेख्न सकिरहेको छैन शव्दको छैनौट त झन बेस्सरी गारो परेको छ । मेरो र आम नेपाली श्रमिक किसान मजदुर र  सोशित, पिडित र उत्पीडित  मात्र नभएर विश्वका  जनसमुदायको प्रिय शब्द  कमरेड, भनेर तपाइलाई सम्बोधन गर्न नपाएर नै यो चिठी लेखिरहेको छु ।

आदरणीय श्री पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ज्यु यो चिठीको शुुरुमानै मेरो केही अनुत्तरित  प्रश्नहरु राखेको छु, यी प्रश्नको  जवाफ कुनैदिन जहाँ र जसरी भए पनि हामीलाई दिनुपर्छ र दिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।

  • १) सम्माननीय पूर्व प्रधानमन्त्री ज्यु तपाईंलाई के मोहले हो कमरेड शब्द, कम्युनिष्ट बिचार, सिद्धान्त र दर्शनको बिपरित बनायो ?
  • २) सम्माननीय पूर्र्व प्रम बाबुराम भट्टराई ज्यु के  माक्सवाद बिज्ञान होइन ?
  • ३) हिजो तपाइले मालेमाबादको आलोकमा उभिएर आफ्नै नेतृत्वमा गरेको  १० बर्षको जनयुद्ध बिज्ञानसम्मत थिएन ?
  • ४) विश्वभरका सोशित, उत्पीडित, मजदुर बर्गलाई मुक्तीको मार्ग देखाउने बिज्ञान मालेमाबाद बाहेक अर्को कुन हो ?
  • ५) जनयुद्धमा भएको जनधन नोक्सानी र आज हामीले प्राप्त गरेको उपलब्धीहरुको अपजस र जस दुबैको स्वामित्व ग्रहण तपाइले गर्नुपर्छ कि पर्दैन ?
  • ६) तपाइकै जिल्ला गोरखाबाट जनयुद्धमा शहिद  हुनुहुने जनयुद्धको प्रथम सहिद १४ बर्षका महान सहिद दिलबहादुर रम्तेल र अरु हजारौं–हजार शहिद परिवार, बेपता, घाइते अपाङ योद्धा र तीनका परिवारलाई तपाईं आज कुन बिज्ञानको आधारमा कुन दर्शन र सिद्धांतको आधारमा सम्झाउन बुझाउन सक्नुहुन्छ ?
  • ७) तपाइलाई हिजो आज किन श्री र सम्माननीय जस्ता राजकीय शब्द पृय र कमरेड शब्द अप्रिय  लाग्छ ?
  • ८) तपाइलाई जनयुद्धले प्राप्त गरेका उपलब्धिले गर्व र हजारौ हजारको बलिदानबाट बनेको माओबादी पार्टी र त्यसको नेतृत्व छोडेर बाहिर बस्दा मन दुख्ने र  हिनताबोध  दुबै हुदैन र ?

हो मसँग यस्ता हजारौ अनुतरित प्रश्नहरु छन् जसको उत्तर तपाइबाहेक अरुले दिन सक्दैन । आदरणीय सम्माननिय श्री बाबुराम भटराई म र म जस्ता हजारौ हजार मान्छे  सधै तपाइलाई यी केके भनेर सम्बोधन गर्नु भन्दा कमरेड भन्न र प्रिय नेता भन्न र लेख्न पाउ भन्ने चाहान्छौ । नमस्कार भन्दा पनि अभिबादन भन्न चाहान्छौ । तर, हामीलाई  हाम्रो चाहानालाई तपाइले निषेध गर्नुभो ।

मलाइ राम्रोसग थाहा छ मैले भुलेको छैन पार्टीको पालुङटार  प्लेनम तपाइले छुटै दस्तावेज पेश गर्नु भएको थियो र तपाइले समाजबादी कार्यक्रमको ब्याख्या गर्नु भएको थियो । उ बेला तपाइले प्रचण्डको दस्तावेजलाई ‘गोबर’ जस्तो समेत भन्नू भएको  थियो ।

म तपाइको दस्तावेज र कमरेड प्रचण्डको दस्ताबेज दुबैको पक्षमा थिएन म त आमूल परिवर्तनको निम्ति अझ लड्नु पर्ने भनेर लेख्ने कमरेड किरणको दस्तावेज को पक्षमा थिए । प्लेनम सकाएर काठमाडौ पर्किएपछि तपाइहरुले  धोबि घाट्मा.......के के .......होस्   म त्यता जान चाहान्न । आखिर तपाइलाई प्रधानमन्त्री यहि माओबादी आन्दोलनले बनाएको हो नि ? कुनै राजा महाराजाहरुले त बनाएको होइन ।

डा. साब सहि बिचार, सहि नेतृत्व, हँुदासम्म मन्त्री प्रधानमन्त्री सासद त भैदोरहेछ नि होइन ?  तर बिचार सिद्धान्त र आदर्शबाट दाँयाबाँया हँुदा पार्टीसम्म पनि नहुदो रहेछ, कुदाकुद गरेर अरुले बनाएको घरमा आस्रय लिदा पनि निम्सरो पो हुदो रहेछ नि । आफैले बनाएको घरलाई भत्किसकेको भनेर पुर्ननिर्माण गर्न छोडी अरुको घरमा डेरा खोज्दै हिड्ने तपाईंलाई सायद नेपाली जनताले बुझ्न र चिन्न नसकिने रहेछ ।

डा. साब आजसम्म जे जे भयो त्यो बिगतलाई छोडौ म न्यायप्रेमी जनताको तर्फबाट तपाइलाई यो पत्रको माध्यमबाट यति आग्रह र अनुरोध गर्दछु कि तपाईं अब माओबादी हुन पर्दैन नहुनुस् पनि तर कम्युनिष्ट बिचार र  माक्स्बाद तिर फिर्नुस् नेपालमा माक्र्सवादको सृजनात्मक प्रयोग कसरी गर्ने भन्ने बिषयमा बहस र बिचार निर्माण गर्नुस् । हिजो तपाई कम्युनिष्ट नै हुँदा बाबुराम कम्युनिष्ट होइन भन्नेहरु अहिले पनि छन्, आज बाबुराम समाजबादी हो भन्दा होइन हुन सक्दैन भन्नेहरु पनि छन् त्यसैले डा. साब  अब तपाइको अगुवाईमा समाजबादी केन्द्र निर्माणको नेतृत्व गर्नुस्, त्यो समाजवादी केन्द्र  अवश्य पनि माक्सबादी चाहिँ होस् ।  समाजबादी केन्द्रमा प्रचण्ड, बाबुराम, माधब नेपाल, झलनाथ र बामदेबको नेतृत्व होस् । केही बर्षपछि नयाँ पुस्तालाई पार्टी र देश जिम्मा लगाएर  सम्मानीत हुनुहोस् । 

देश निर्माण र समाजवाद निर्माणको खाका हाम्रो पुस्तालाई जिम्मा लगाउन सक्नु भो भने तपाईंलाई अरु हजार बर्ष नेपाली जनताले सम्झिने छन् । आज हामीले तपाईबाट अपेक्षा गरेको यति हो । डा.  साब तपाईंसँग हाम्रो  अन्य केही ठूलो माग छैन बास गरिबी अशिक्षा अन्याय र अत्याचार र उत्पीडनको अन्त्य गरिदिनुस् । त्यसको निम्ति समाजबादी पार्टी, बिचार दर्शन र कम्युनिष्ट पार्टीहरु बिचको एकता ..........  जस्को पहल स्वयम् तपाइबाट होस् बास यति डा साब ।

अन्त्यमा म भुइ मान्छेको मनको कुरो तपाईंसँग पुग्छ कि पुग्दैन  थाहा छैन डा. साब । तर, तपाई एक असल इमान्दार र बौद्धिक ब्यक्तित्व हो । यो देशलाई तपाईको आवश्यकता छ आफुले आफैलाई समिक्षा गरि नयाँ बिचार नयाँ चेतना र नयाँ संगठन...... निर्माण गर्दै नेपाललाइ २१ औ शताब्दीको समाजबादी मुलुक बनाउन  समाजबादी केन्द्र निर्माणमा तपाईको नेतृत्व रहोस् भन्ने शुभकामना ब्यक्त गर्दै  बाँकी अर्को पत्रमा प्रेसित गर्ने छु ।

                    धन्यबाद 

  • उहिँ तपाईको शुभचिन्तक
  • बासु दुलाल,  बिर्तामोड झापा ।