काँकडभिट्टा । 

आगामी डिसेम्बरको दोस्रो साता कोलकातामा हुने सुन्तला महोत्सव र नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले छलफल भएको छ । छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि भारतका राज बशु र नेपालबाट अर्जुनकुमार कार्कीको संयोकत्वमा नयाँ समिति बनाउने निर्णय गरेको छ ।

बशु भारतमा ग्रामिण पर्यटनका गान्धीको रुपमा परिचित छन् भने कार्की पर्यटन अभियन्ता र मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष समेत हुन् । आगामी अगष्ट ६ तारिख सिलीगुडीमा हुने वैठकले ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि समिति बन्ने कार्कीले बताए ।

भारतसँग प्रदेश नम्बर १ कालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले काँकडभिट्टामा नेपाल–भारतका सरोकारवालासँग छलफल भएको हो । छलफलमा दुई देशका अधिकांश वक्ताहरुले पर्यटन प्रवर्धनमा जोड दिएका थिए ।

छलफलमा सहभागीले पर्यटन प्रर्वधन गर्न सके दुई देशलाई फाइदा पुग्ने विषयमा चर्चा गरेका थिए । त्यसका लागि दुवै देशका अभियनताहरुले एक अर्कामा सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।