बिर्तामोड । 

नेकपा एमालेका नेता तथा  पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले स्टेण्ड पार्टनशिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नरहेको बताएका छन् ।

उनले अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चीनमाथि आफ्नो शक्ति प्रदर्शन गर्न नेपालमा एसपीपी सम्झौता गर्न लागेको भन्दै त्यो नेपाली जनताका लागि मान्य नहुने बताएका छन् । 

झापाको बिर्तामोडमा बिहीवार (आज) पत्रकारसँग कुरा गर्दै पूर्व महान्यायाधीवक्ता खरेलले नेपाली सेनालाई सैन्य तालिम दिने बहानामा अमेरिकी सेना नेपाल भित्र्याउने रणनीतिक योजना एसपीपी भएकाले त्यो मुलुकका लागि हितकर नहुने उल्लेख गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अमेरिकी भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने दुश्साहस गरे त्यो मुलुक र जनतामाथि कुठाराघात हुने उल्लेख गरे । उनले उक्त सम्झौतामा सैन्य तालिमको बहानामा नेपालको उच्च भू–भागमा टे«निङ सेन्टर राख्ने भनेर उल्लेख गरिनु चीनमाथिको निगरानी हुने सहजरुपमा बुझ्न सकिने बताए । खरेलले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको दाबी समेत गरेका छन् ।

महान्यायधिबक्ता खरेलले स्थानीय तहको निर्वाचनमा दलिय मान्यता भन्दा बाहिर गएर गठबन्धन भएपनि नेकपा एमालेको पक्षमा जनमत बढेको बताए । उनले सवै दल एकातिर एमाले एक्लै हुँदा पनि झापामा सन्तोषजनक परिणाम आएको उनको भनाई थियो ।