झापा ।
सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दैछन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।
प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। सोही अनुसार सात वटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ। यो बजेट वर्तमान संसद आएपछि गठन भएका प्रदेश सरकारहरुको अन्तिम बजेट हो।
आगामी आवमा प्रदेशमा समेत निर्वाचनको माहोल हुने छ। सोहीकारण प्रदेश सरकारहरुले लोकप्रिय र वितरणमुखी बजेटलाई प्राथमिकता दिँदैछन्।
संघीय सरकारले कृषिमा आत्मनिर्भर हुने कार्यक्रमलाई प्राथमिकता राखेसँगै प्रदेश १ सरकारले समेत कृषिलाई बजेटमा उच्च प्राथमिकता दिने भएको छ । किसान परिचय पत्र वितरण गर्ने तथा एक पालिका एक उत्पादनको नीति अबलम्बन गर्ने गरी प्रदेश १ सरकारले बजेट ल्याउने भएको छ।
आगामी वर्ष खोरेत रोग मुक्त अभियान चलाउने घोषणा गरेको प्रदेश १ सरकारले स्थानीय तहसँगको समन्वयमा एकीकृत बजारीकरण मोडेल सुनिश्चित गर्ने प्रदेश सरकारको नीति छ।