इलाम ।  

नेपालमा पनि पर्यटकीय स्थल घुम्नेको संख्या दिनानु दिन वढ्दै गएको छ ।  दुईबर्ष यता पर्यटकका लागि निकै चर्चामा रहेको इलाम माई नगरपालिका २ को ‘हेप्पी ड्रिम्स चेप्टी’ घुम्न जानेको संख्या पनि ह्वात्तै वढ्दै गएको पाइन्छ । 

चेप्टीको ‘हेप्पी ड्रिम्स चेप्टी’ पर्यटकीय स्थल घुम्न जान त्यहाँको मनोरम बस्तुहरुले बालबालिका, युवादेखि लिएर बृद्धबृद्धाको समेत आकर्षण वढेको छ । एकपछि अर्को गर्दै उक्त पर्यटकीय स्थलमा मनोरन्जनका हेर्ने, खेल्ने बस्तुहरु वढिरहेको र घुम्ने स्थानहरु वढ्दै गएपछि त्यहाँ जानेको संख्या बढेको हो । 

चेप्टीमा दुई बर्ष अघिदेखि शुरु भएको ह्याप्पी ड्रिम्स चेप्टी पार्क निर्माण कार्यको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । दुर्गम क्षेत्रको रुपमा रहेको चेप्टीलाई विकास गर्ने र चुरे क्षेत्र संरक्षण गर्ने उदेश्यले व्यवसायी दिनेश शिवाकोटीले प्रोजेक्ट स्थापना गरेका हुन् ।

chepti3

तीन सय रोपनी जग्गामा शुरु भएको प्रोजेक्ट मध्ये ८५ रोपनी नम्बरी, १६५ रोपनी ऐलानी जग्गा खरिद गरेको र करिव ५० रोपनी सामुदायिक बनको क्षेत्रभित्र करडौंको बृक्षरोपन गरिएको शिवाकोटीले बताए ।

 १६५ रोपनी जग्गा बर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयबाट प्रोजेक्टका लागि खरिद गरेको सञ्चालक शिवाकोटीले जानकारी दिएका छन् । उनले उक्त प्रोजेक्ट शुरु गर्नु अघि नै जग्गाको बिषयमा स्थानीय दुई सय ५० जनालाई सर्जिविन गराएर नगरपालिकाबाट सिफारिस लिएको बताए । ‘मैले मेरो ब्यक्तिगत फाइदाको लागि मात्र यो प्रोजेक्ट शुरु गरेको होइन’ शिवाकोटीले भने ‘यो ठाउँमा विकास र रोजगारी सिर्जना होस् भन्ने मेरो चाहाना पनि हो ।’

प्रोजेक्ट शुरु हुनु अघि उक्त क्षेत्रमा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था थियो । तर, अहिले जुनसुकै सवारी सहजै पुग्ने, स्थानीयलाई रोजगारीको अवसर, स्वास्थ्य, शिक्षाको पहुँच वढ्दै गएको स्थानीयहरु बताउँछन् । शिवाकोटीका अनुसार निर्वमान वडाअध्यक्ष खम्बासिंह लिम्बुको आग्रहमा  प्रोजेक्ट चेप्टीमा शुरु गरिएको हो ।

shiwakoti

पार्क बनाउनु ठूलो कुरा नभएको बताउँदै शिवाकोटीले भने ‘यो क्षेत्रको विकास र चुरे क्षेत्र संरक्षण गर्नु ठूलो कुरा हो ।’ उनले चुरे संरक्षणका लागि पनि बिभिन्न उपायहरु अपनाएको बताएका छन् । ‘संरक्षणका लागि बर्षायाममा बग्ने चुरेलाई रोकथाम गर्न पोलम र बृक्षरोपन गरेका छौ’ शिवाकोटीले भने ‘हामीले गरेको कामलाई सरकारले धन्यवाद दिनुपर्छ ।’

केवलकार र जीपलाइनसहित २.५ अर्वको लगानी हुने बताउँदै उनले प्रोजेक्टको फन पार्कमा मात्र अहिलेसम्म ३५ करोड खर्च भइसकेको बताएका छन् । चेप्टी हाइवेबाट नजिकै रहेपनि बाटो नहुँदा एकदमै दुर्गम क्षेत्र भएकोले त्यसको बिकाससँगै पर्यटकीय स्थल बनाउने सोच आएको शिवाकोटीले बताए । पर्यटन सम्बन्धी खासै अध्ययन नगरेपनि वातावरण, बोटविरुवा र फुलबारीका बिषयमा जानकार रहेको शिवाकोटीको भनाई छ । त्यस्तै जीपलाइन र केवलकारका लागि पनि जग्गा खरिद भइसकेको शिवाकोटी बताएका छन् ।