हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका अध्यक्षमा पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्रप्रसाद लिङ्देन निर्वाचित भएको छन् । लिङ्देनले उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २१९० मतले पछि पार्दै निर्वाचित भएका हुन् । लिङ्देनले ६८५६ मत प्राप्त गरेका थिए भने गिरीले ४६६६ मत ल्याएका थिए । लिङ्देन दोस्रो ५ बर्षे कार्यकालका लागि हल्दीबारीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली ५०७८ मत ल्याएर निर्वाचित बनेकी छिन् । उनकी निकतम प्रतिद्धन्द्धी एमालेकी शान्तादेबी गौतमले ४१०६ मत प्राप्त गरेकी छिन् । मैनालीले ९७२ मतले पछि पार्दै गौतमलाई हराएकी हुन् ।
त्यस्तै अध्यक्ष पदमा नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २७५८, नेकपा (माओवादी केन्द्र) का भवानीप्रसाद दंगालले ११४९ मत ल्याएका छन् । उपाध्यक्ष पदमा माओवादी केन्द्रकी टीकादेवी राउतले १४५३, स्वतन्त्र (मुडा चिन्ह) का लखन हेमरमले ३७०० र नेकपा मालेका गंगाप्रसाद शिवाकोटीले ९० मत ल्याएका थिए ।
५ वटा वडा रहेको हल्दीबारीमा २ वटा वडाअध्यक्ष राप्रपा, एउटा माओवादी, एउटा एमाले र एउटा वडाअध्यक्ष कांग्रेसले जितेको थियो ।
वडा नं. १ मा राप्रकाका देवीबहादुर थापा, वडा नं. २ मा माओवादी केन्द्रका शुकलाल राजबंशी, ३ नं. मा वडा एमालेका बिष्णुप्रसाद ओली, वडा नं. ४ मा राप्रपाका सन्तकुमार थापा र वडा नं. ५ मा कांग्रेसका खड्ग लावती वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
करिब राती १२ः३० बजे मत गणना सम्पन्न भएको थियो भने करिव राती १ बजे बिजयी घोषणा गरिएको थियो । गाउँपालिकामा जम्मा १७२९९ मत खसेको थियो ।