बिर्तामोड । 

बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिक पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताएकी छिन् ।

चुनावी प्रचार अभियानका क्रममा आज मंगलबार वडा नम्बर ६ मा आयोजना गरीएको कोणसभालाई संवोधन गर्दै निवर्तमान नगर उपप्रमुख समेत रहेकी उम्मेदवार प्रसाईले विगत ५ वर्षको अवधिमा धेरै प्रगति भएको बताइन् । उनले नेकपा एमालेले बिर्तामोडमा १० वटै वडा जोड्ने गरिको रिङ्गरोडको आवश्यकता भएको महसुस गरेर अवधारणा ल्याएको बताइन् । यस्तै नगरभित्र रहेका उद्यान पार्क, ऐतिहासिक स्थलहरुलाई पर्यटनसंग जोडेर उद्यमशिलतासँग जोडेर उद्योग र समृद्धितिर अघि बढाउनु पर्ने बताइन् । 

बैदेशिक रोजगारका कारण मुलुक तहसनहस हुने अवस्थामा रहेकोले यहाँ भएका साना उद्योगहरुलाई विकास गर्दै कृषि क्षेत्रलाई पनि प्रविधिमा जोडेर व्यवसायीक रुपमा अगाडी बढाउनु पर्ने बताइन् ।  उम्मेदवार प्रसाईले पर्यटन र होटल मेनेजमेन्ट अध्यनका लागि बिर्तामोडमा नाथुन कलेको स्थापना गरेको पनि जानकारी दिइन् ।

नेकपा एमालेको सरकारले आयोग गठन गरेर जग्गा पहिचान गरि भूमीहिन सुकुम्वासीको लगत संकलन कार्य सुरु गरेको तर परमादेशी सरकारले यसलाई विगठन गरीदिएको उम्मेदवार प्रसाईले बताइन् । बिर्तामोडमा परेका राष्ट्रिय स्तरका योजनासमेत परमादेशी सरकारले खारेज गरेको बताइन् ।

यस्तै उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले विजयी पश्चात आफ्नो जिम्मेवारीमा रहने कामहरु इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्वता जनाए ।  वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष समेत रहेका  संग्रौलाले यस अघिका अधुरा कामहरु पुरा गर्ने र बाँकी नयाँ योजनालाई अघि बढाउने बताए । कृषि, पशुपंछिको क्षेत्रमा किसानहरुलाई अनुदानको व्यवस्था अझै बढाएर लैजाने समेत बताए ।

नेकपा एमालेको तर्फबाट वडा नम्बर ६ को वडाध्यक्षमा  बुद्विराम भट्टराई, खुल्ला सदस्यमा महिलातर्फ आइतमाया लिम्बु सेर्मा, दलित महिला सदस्यमा पदमकुमारी दियाली, सदस्यमा खेमनाथ अधिकारी र देवीप्रसाद नेपाल उम्मेदवार रहेका छन् । प्रचार प्रसारको अन्तिम दिन एमाले बिर्तामोड नगर कमिटिले वडा नम्बर ६का स्यालडाँगी, पिपलचोक, बुट्टाबारी लगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको छ । प्रचार प्रसारका क्रममा टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खदा लगाएर सम्मान समेत गरीएको थियो ।