अर्जुनधारा ।

 नेकपा एमाले प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । 

झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा अन्र्तगत शनिश्चरे बजारमा नेकपा एमालेले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता घिमिरेले एमालेका जनप्रतिनिधिले मतदाता समक्ष गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा कुनै संकोच नराखी ढुक्क हुन आग्रह गरेका हुन् ।  

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले एमालेका उम्मेदवारहरुले जनताको जनादेशलाई सर्बोपरी मानेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न लगनशिल भएर काम गर्ने बताए । अहिले मुलुकमा चुनावै नचाहने पार्टीहरुले गठबन्धन गरेर स्वार्थकालागि निर्वाचनमा होमीएको उनले आरोप लगाए । 

जनताले प्रत्यक्ष रुपमा मतदान गरेर स्थानीय प्रतिनिधि चुन्ने सूर्वण अवसर पाँच बर्षमा मात्रै प्राप्त हुने भएकाले योग्य र ईमान्दार उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।  नेता घिमिरेले अर्जुनधारा नगरपालिकामा एमालेका तर्फबाट विकासप्रेमी, जनप्रीय, योग्य र ईमान्दार उम्मेदवारहरु चुनावी मैदानमा होमीएको दावी गरे ।

उनले मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले यसअघि १० नम्बर वडाको वडाअध्यक्ष हुँदा वडा तथा नगरको विकासमा खेलेको भुमिकाको प्रशंसा गरे । नेता घिमिरेले मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ, उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली लगायत ११ वटै वडाका वडाअध्यक्ष र सदस्यहरु गरि ५७ जना उम्मेदवारहरुलाई मतदान गरि विजयी गराउन आग्रह गरेका छन् ।