बिर्तामोड ।
बिर्तामोड नगरपालिकाका गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले उम्मेदवारले गरेका प्रतिबद्धता पूरा गर्नु पर्नेमा जोड दिएका छन् । चुनावी कार्यक्रमका क्रममा बिर्तामोड–७ को फक्ताङलुङ टोलमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै सिटौलाले जातीय विभेदको अन्त्य प्रतिबद्धतामा होइन व्यवहारमा गरिनु पर्ने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिटौलाले दलितहरु माथि भएको विभेदको अन्त्य व्यवहारबाट मात्र सम्भव भएको बताउँदै वर्तमान मेयर, उपमेयरले कुन दलितको घरमा गएर खाना खानु भो? भन्दै प्रश्न गरे । उनले बोलेर हैन व्यवहारमा उतारेर मात्र जातीय विभेदको अन्त्य सम्भव भएको भन्दै वर्तमान सरकारले जनतालाई ढाँटेको बताए । उनीहरुले विभेदको अन्त्यको कुरा गरेको तर व्यवहारमा कार्यान्वयन नगरेको उनले बताए । राजनीतिमा बेइमानी गर्न नहुने भन्दै उम्मेदवार सिटौलाले आफुहरु कहिलेपनि बेइमान बन्न नसक्ने जिकिर गरे ।
उनले शिक्षा, स्वास्थ्य, रोजगार लगायत महत्वपूर्ण बिषयको सवाल रहेकाले स्थानीय निर्वाचन महत्वपूर्ण भएको बताए । यस अघि केन्द्रदेखि स्थानीय तहसम्म एमालेको सरकार भएपनि काम गर्न नसकेको आरोप लगाए । ‘एमालेको तीनै तहको सरकार थियो तरपनि काम भने केहि गर्न सकेन,’ उनले भने,‘सूर्यमा भोट हाल्नेको मात्र काम भयो, त्यहिपनि सबै सूर्यवालाको काम गर्न सकेनन् । सकेको भए हाम्रै जनता हुन् अलिक धेरै भयो भन्थ्यौँ त्यो पनि भएन ।’ सिटौलाले सबै गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गर्दै गठबन्धनको सरकार आए धुलो उडेको बाटो हेरेर बस्नु नपर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले आफू जनप्रतिनिधी नहुँदैपनि ७ नम्बर देउनीया खोलामा तटबन्धसँगै व्युटिफिकेसनको डिपीआर तयार गर्ने लगायत थुप्रै काम गरेको भन्दै जनप्रतिनिधीमा निर्वाचित गराएर थप जिम्मेवारी दिन आग्रह गरे । उनले सिताराम टोलमा थप सिँचाई सुविधा पुर्याउने, बुट्टाबारी पकलीभट्टी सडक कालोपत्रे गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद लिम्बूले आफु विभिन्न संघसंस्था तथा सामुदायिक वनको कार्यसमितिमा रहेर काम गरिसकेकाले यहाँको आवश्यकता राम्ररी बुझेको बताए । उनले आफ्नो उम्मेदवारी एक्लो नभएर सिङ्गो गाउँकै भएकाले आफ्नै दाजुभाई दिदीबहिनी सम्झेर सम्पूर्ण टिमलाई निर्वाचित गराउन आग्रह गरे । उनले सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गरी विकास र सेवा प्रवाहमा विभेदरहित वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
गठबन्धनका तर्फबाट वडा नम्बर ७ मा वडाध्यक्ष लिम्बु, महिला सदस्य मिठु आचार्य, दलित महिला सदस्य सीता चर्माकार, वडा सदस्यहरु बिरबहादुर लिम्बू (अंगु) र पारसमणी दुलाल चुनावी मैदानमा छन् ।