बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगरकमिटी इञ्चार्ज देवराज कार्कीले अवको ५ वर्ष भित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने बताएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उनले २०७४ सालको निर्वाचन अघि कुपोषण लागे जस्तो रहेको बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा युवा जस्तो बनाएको बताए । इञ्चार्ज कार्कीले यसलाई अवको ५ वर्ष भित्रमा एमाले नेतृत्वको सरकारले १६ वर्षे युवा जस्तो शुन्दर, सफा, लोभलाग्दो र हरबरा बनाउने बताए । नेकपा एमालेले नगरको सुन्दर भविस्य समेटिएको १७ वटा वुँदामा प्रतिवद्वता पत्र सार्वजनिक गरेको कार्कीको भनाई छ ।
शिक्षा, स्वास्थ्य र कृषिहबको रुपमा बिर्तामोडलाई विकास गर्ने नेकपा एमालेको प्रतिवद्वता पत्रमा उल्लेख छ । एमालेले अवको ५ वर्ष भित्रमा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र प्रविधियुक्त बनाउँदै कक्षा १२ सम्म पुर्णरुपमा निशुल्क गर्ने, बिर्तामोडमा रहेको सामुदायिक, नीजि र सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्यमैत्री ढंगले अघि बढाउने, असाहय नागरिकहरुलाई स्वास्थ्य विमा मार्फत उपचार गराउने, कृषिलाई आधुनिकिकरण गर्दै लैजाने, ३ वटा चिस्यान गृह र माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रतिवद्वता पत्रमा उल्लेख छ ।
नगर इञ्चार्ज कार्कीले विपन्न नागरिकहरुलाई रोजगार र उत्पादनसंग जोडेर आफ्ना कार्यक्रमहरुलाई अघि बढाउने, उनीहरुको लागि निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य विमा, खानेपानी, विद्युत, शौचालय सहित सुविधायुक्त जनता आवास निर्माण गर्ने बताए । उनले भुमिहिन नागरिकलाई जग्गाको मालिक बनाएर धनीपुर्जा उपलव्ध गराउने पनि बताए ।
इञ्चार्ज कार्कीले कम्युष्टि पार्टीको नेतृत्वमा बनेको सरकारले भ्रष्टचार नगर्ने, शुसासन, पारदर्शीता र जनमुखी सेवालाई अघि बढाउने बताए । उनले नगरमा भएका भाषा, कला, संस्कार संस्कृति, साहित्यको विकासको लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने, रोजगार सेवा केन्द्र स्थापना गर्ने पनि बताए । उनले नगरको भौतिक विकासको लागि एकिकृत गुरुयोजना निर्माण गरेर अघि बढ्ने बताए । नेकपा एमालेले ५ वर्ष भित्रमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने, बाँकीलाई उच्चस्तरीय ग्राभेल, पेवर्स लगाउने, डोमालाल राजवंशी रङ्गशालाको स्तरउन्नति गरी ७ हजार ५ सय सीट क्षमताको प्याराफिट निर्माण गर्ने, मदन भण्डारी खेलमैदानलाई क्रिकेट एकाडेमी, फुटवल एकाडेमी सञ्चालन गर्ने लगायतका नगर गौरवका आयोजनाहरुलाई प्रतिवद्वता पत्रमा उल्लेख गरिएको छ ।
बिर्तामोडमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा पवित्रा महतारा प्रसाई र उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौला उम्मेदवार रहेका छन् । उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई अघि बढाईरहेका छन् । शनिबार नगरप्रमुख र उपप्रमख पदका उम्मेदवारसहित वडा नम्बर ४ मा घरदैलो कार्यक्रम गरिएको छ । वडानम्बर ४ मा वडाध्यक्षमा राहुल कुमार शर्मा र सदस्यहरुमा खुल्ला महिला तर्फ रमादेवी राजवंशी, दलित महिलातर्फ निर्मलादेवी सुनुवार, सदस्यमा उमेश राउत र केशवकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् ।