अर्जुनधारा ।

 चर्चित हास्यकलाकार विल्सन बिक्रम राई (तोक्मेबुढा)ले अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन उत्तम नेता भएको बताएका छन् ।

अर्जुनधारा ७ मिलडाँडा चोकमा आज(शुक्रवार) आयोजित चुनावी कोणसभामा उनले मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङलाई विजयी गराउन आग्रह समेत गरे ।  अर्जुनधाराको विकासका लागि उत्तम नेता बलदेवे गोम्देन तामाङ भएको बताउदै विल्सनले उनलाई भोट दिएर मेयर पदमा विजयी गराउन आग्रह गरेका हुन् । 

राईले नेता हुनका लागि रिजन र भिजन हुनुपर्ने बताउदै बलदेवमा ति दुबै गुण भएकाले समृद्ध नगर निर्माणको लागि उनले जिताउनु पर्नेमा जोड दिए । भौतीक र प्राबिधिक विकास मात्रै विकास नभएको भन्दै राईले नगरबासीको व्यत्तित्व विकासले सबैभन्दा ठुलो महत्व राख्ने बताए। त्यसका लागि जनताले सहि नेतृत्व छान्नुपर्ने उनको तर्क थियो ।

५ बर्ष अर्जुनधारा १० नम्बर वडाको वडाअध्यक्ष हुँदा बलदेवले गरेको विकास हेरेर जनताले अब नगरपालिकाको विकासका लागि बलदेवलाई जिताउनु पर्ने राईको भनाई थियो । तोक्मे बुढा उपनामले परिचित विल्सनले चुनावी सभामा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुती समेत दिएका थिए ।  कार्यक्रममा नायीका रजनी गुरुङ (मंगली) ले पनि राईसँग नृत्य प्रस्तुत गरेका थिए । 

कोणसभामा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ, उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली(इन्दिरा)ले पनि आफ्नो चुनावी प्रतिबद्धतासहित नेकपा एमालेका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गरेका थिए ।