हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) तर्फबाट उम्म्द्वारी दिएकाले भ्रष्टाचारमुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएको छ । विहिबार हल्दिबारीको ढडुवा बजारमा भएको कोणसभामा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भवानीप्रसाद दंगालले भ्रष्टाचारमुक्तसँगै हल्दिबारीलाई नमूना बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हल्दिबारी झापाकै तेस्रो भ्रष्टाचार हुने पालिका रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार दंगालले माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भए भने पालिकामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘हल्दिबारी झापाकै बढी बेरुजु हुने पालिकामा तेस्रो नम्बरमा पर्छ,’ उनले भने,‘हामी ती बेरुजु गर्नेहरुलाई, कार्यकर्तालाई भर्तीकेन्द्रको रुपमा गाउँपालिकालाई प्रयोग गर्ने महानुभावहरुलाई सदाका लागि हामी विदा गर्न चाहन्छौँ ।’ यस्तो करतुत गर्ने महानुभावहरुलाई अबको निर्वाचनबाट पाखा लगाउन माओवादी केन्द्र तयार भएको उनले बताए । माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दै उनले आफूहरुको स्थानीय सरकार बन्यो भने त्यसको भोलिपल्ट बाटै पालिकालाई भ्रष्टाचारमुक्त बनाई देशभरमा नमूना पालिका बनाउने उद्घोष गरे । उनले हल्दिबारीको स्थानीय सरकारले गाउँपालिकामा खानपिनमा ९२ लाख बेरुजू गरेको भन्दै खेद प्रकट गरे ।
जनप्रतिनिधीहरु मालिक नभएर सेवक भएको बताउँदै आफूहरु जनताको सेवक भएर काम गर्न आउन लागेकाले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न दंगालले आग्रह गरे ।
त्यस्तै उपप्रमुख पदका उम्मेदवार टीकादेवि राउतले माओवादी केन्द्रको स्थानीय सरकार बनेमा पालिकालाई भ्रष्टाचारमुक्त बनाई सुशासन कायम गरिने बताइन् । उनले आफु वृद्धवृद्धा, महिला, अपांग, असहायको बैशाखी बनेर काम गर्ने प्रतिबद्धता जनाइन् । उनले पालिकामा उत्कृष्ट न्यायनिरुपण गर्ने, विकासका नमुना योजना बनाउनेलगायत आफूहरुसँग हल्दिबारीको समृद्धिका लागि थुप्रै योजनाहरु रहेको बताइन् ।
वडाध्यक्ष पदका उम्मेदवार पदमलाल शिवाकोटीले ठूला सपना बाँड्न नआएको बताउँदै माओवादी केन्द्रका उम्मेदवारहरुले जितेको अवस्थामा कृषिलाई प्राथमिकताका साथ राखिने, प्रत्येक एक किलोमिटरमा कृषि भण्डार स्थापना गरिने, पालिकामा कृषिजन्य उद्योगहरु स्थापना गर्ने, विदेश जानुपर्ने अवस्थालाई अन्त्य गरि पालिकामा नै स्वरोजगारका कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र झापाका सहइञ्चार्ज ज्योतिसिं दर्लामी, माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिव मोहन टुडु, नेता धर्म शिवाकोटी, पार्टीका गाउँ कमिटि सचिव जीत राजवंशीलगायत थुप्रै कार्यकर्ता सहभागी रहेको घरदैलो अभियानले हल्दिबारीको चिनिमाया चोक, बाङ्गे चोक, कन्टारघुट्टु, गैरीगाउँ, बाघ डाँडा, ढडुवा, हल्दिबारी चोकमा घरदैलो तथा कोणसभा गरेको थियो ।


















