सुरुङ्गा ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलले कनकाई नगर एमाले मय भएको दाबी गरेका छन् । एमालेको नेतृत्वमा बनेको सरकारबाट भएको असल कर्मकै कारण फेरी पनि जनताले एमालेको नेतृत्व चाहेको भन्दै नेता खरेलले कनकाईमा एमालेको जीत सुनिश्चित भएको दावी गरे ।
आज नेकपा एमाले कनकाईले वडा नं. ८ स्थित लक्ष्मीपुरमा आयोजना गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै एमाले नेता खरेलले सुखी नेपाली समृद्ध नेपाल निर्माणको परिकल्पनाकार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ नेपाल निर्माणको अभियानमा एकजुट हुन समेत सबैलाई अनुरोध गरेका छन् ।
देश बनाउँने अभियानमा समृद्धिका सपना देख्ने एमाले अध्यक्ष ओली कहिल्यै पनि निजी स्वार्थका विषयमा विवादमा नपरेको नेता खरेलले टिप्पणी गरे । परिवार बनाउने, छोरीलाई मेयर बनाउने र सम्धीलाई मन्त्री बनाउने अभियानमा कहिल्यै नलागेका एमाले अध्यक्ष ओलीको नेतृत्वमा आएको नयाँ नेपाल निर्माणको अभियानलाई सफल पार्न अब सबै स्थानीय तहमा एमालेकै बहुमतको नेतृत्व आउँने कुरामा नेता खरेलले जोड दिए ।
नेता खरेलले पूर्व पश्चिम रेल मार्गको सम्झौता गर्ने व्यक्ति एमाले अध्यक्ष ओली नै भएको प्रष्ट पार्दै उनले अहिले उत्तर–दक्षिण जोडिने रेल निर्माणकोलागि चीन सरकारसँग समेत सम्झौता सम्पन्न भएर डिपिआर निर्माण भईरहेको बताए।
जनताको माया र साथ पाएकै कारणले विगतमा कनकाई नगरपालिकामा समेत एमालेको तर्फबाट नेतृत्व गरेका नगर प्रमुख राजेन्द्रकुमार पोखेरल र उपप्रमुख मन्जु प्रसाई लगायत अधिकांश जनप्रतिनिधिबाट ऐतिहासिक काम भएकोमा नेता खरेलले खुशी व्यक्त गर्दै आगामी कार्यकालका लागि समेत पार्टीका तर्फबाट बनेका सबै उम्मेद्वारलाई अग्रिम बधाई शुभकामना दिए । वर्तमान नगर प्रमुखका उम्मेद्वार पोखरेलको नेतृत्वले कनकाईलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउन सफल भएकै कारण कामको मूल्यांकन गरेर पार्टीले फेरि एकपटक मेयर र उपमेयरलाई दोहोर्याउने निर्णय गरेको नेता खरेलले बताए । यस पटक पनि जनताले उनीहरूको कामलाई विश्वास गरेर एमालेलाई नै भोट दिई जिताउनेमा आफूहरू विश्वस्त रहेको नेता खरेलले दाबी छ ।
कार्यक्रममा एमालेका तर्फबाट कनकाई नगरपालिकाका मेयरका उमेद्वार राजेन्द्रकुमार पोखरेलले आफूले नगरलाई समृद्ध बनाउन सुरू गरेका आयोजनाहरुलाई पूरा गर्दै जनताको माग र आवश्यकता अनुरूप प्राथमिकताका आधारमा योजना बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
एमालेको तर्फबाट कनकाई वडा नम्बर ८ का वडाअध्यक्षका उम्मेद्वार प्रेमवहादुर कटुवालले आफ्नो वडामा रहेका अधुरा बाटा, पुल, कल्र्भट जस्ता निर्माणका कार्यलाई सम्पन्न गर्दै नयाँ योजना ल्याएर समग्र वडाको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
कनकाई नगरपालिकामा एमालेको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको निर्वाचन परिचालन समितिका सयोजक रबिन्द्र लम्सालले जानकारी दिए । वृद्ध, बिरामी, विपन्न लगायत सम्पूर्ण नगरवासीहरुले एमालेका उम्मेद्वारहरुलाई तपाईंहरू नै आउनुपर्छ भन्दै आशिर्वाद दिईरहेको बताइएको नगर अध्यक्ष खड्ग प्रसाईले जानकारी दिए ।
घर दैलो अभिअन्तर्गत आज सम्ममा वडा न१,६ ७ ,८ ,९ मा प्रचार अभियान सम्पन्न गरिसकेको निर्वाचन परिचालन समितिका सयोजक लम्सालले जानकारी दिए ।