मेचीनगर ।
नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले मेचीनगरको मेयर पदका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी नेताहरुको कुरा नसुन्ने बरु जनताको कुरा मात्र सुन्ने लोकप्रिय नेता भएको बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता खरेलले ०७४ को स्थानीय चुनावमा मेचीनगरमा दातमा ढुंगा लागेकाले इमानदार र सादगी नेता बुढोथोकीलाई मेयर पदमा पार्टीले उठाएकाले यसपटक दातमा ढुंगा नलाग्ने गरी नगरको सेवा गर्न दिन नगरवासीलाई आग्रह गरेका थिए ।
प्रदेश सांसदको पदबाट राजीनामा गर्न लगाएर पार्टीले मेचीनगरका भुईमान्छेहरुको सेवा गर्न टिकट दिइएको उनको भनाई छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्याङ्ग गर्दै झापा इन्चार्ज खरेलले रुखको छहारी लिएर नेपालमा समाजवाद नआउने बताए । ‘चुनाव जीतेपछि एमालेको घोषणा पत्र कार्यान्वयन हुन्छ’, नेता खरेलले भने –‘राज्यको अबको बाटो समाजवादउन्मुख हुनेछ ।’
कार्यक्रममा मेचीनगरको मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले नगरमा धेरै समस्याहरु रहेकोले त्यस्को चरणबद्व रुपमा हल गर्दै जाने बताएका थिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाई, पैदेश कमिटी सदस्य राजु कार्की, झापाका प्रचारप्रसार विभागका प्रमुख गोपाल काफ्ले, प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती, १३ नम्बर वडाध्यक्षका उम्मेद्वार कृष्णराज सिग्देल, वडा सदस्यहरु रविन्द्र न्यौपाने, ऋषिराज राजबंशी, तुलसा काफ्ले बराल, रीता परियार लगायतको उपस्थिती रहेको थियो ।
एमाले मेचीनगर–१३ का अध्यक्ष भोजराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रचार प्रसार समितिका सचिव बद्री भट्टराईले गरेका थिए ।