अर्जुनधारा ।
नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोट गरेका बताएका छन् ।
एमाले अर्जुनधाराले वडा नम्बर ९ मा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभामा गोम्देनले अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोटका साथ चुनावी मैदानमा होमीएको बताएका छन् । उनले अर्जुनधारालाई उत्कृष्ट बनाउने आफ्नो मात्र नभई सम्पूर्ण नगरबासीको चाहाना भएकाले अफुलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।
गोम्देनले सरकारी बिद्यालयलाई निजि सरहको गुणस्तरीय बनाउनका लागि आफुले भुमिका खेल्ने प्रतिबद्धता गर्दै कृषिमा आधारित नगरपालिका भएकाले कृषी क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्गानिक उत्पादनमा निर्भर नगरपालिका बनाउने बताए।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले व्यवस्थित नगरपालिका निर्माणका लागि सुशासनलाई सुदृढ बनाउदै बालबालिका तथा जेष्ठ नागरिक सबैको सारथी बन्ने स्थानीय सरकारको निर्माण गरिने बताइन् ।
कार्यक्रममा नेकपा एमालेबाट अर्जुनधारा ९ नम्बर वडाको वडाअध्यक्ष पदका उम्मेदवार नरेन्द्रबहादुर राई, वडासदस्य पदका उम्मेदवारहरु बुद्धिमान लिम्बु, अम्बरबहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल विकले पनि मतदाता समक्ष वडाको विकासका लागि मतदान आग्रह गरेका थिए ।
चुनावी कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले झापा जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री अग्नि खरेल, प्रदेश कमिटी सदस्य तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, एमाले झापा उपाध्यक्ष तथा सबिधानसभा सदस्य प्रेमबहादुर गिरी लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।
एमाले अर्जुनधाराले भोली मेयर उपमेयरको उम्मेदवारसहित ११ नम्बर वडामा मतदाता भेटघाट तथा चुनावी कार्यक्रम गर्ने बताएको छ ।