झापा । 

स्थानीय तह निर्वाचन नजिकिदै गएपछि गठबन्धन दलका तर्फबाट उठाइएका उम्मेद्वारहरुले प्रचार–प्रसार अभियानलाई तीब्र बनाएका छन् ।

 गाउँ, नगर र वडाका लागि मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले स्थानीय स्तरमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेर घरदैलो अभियानलाई तीब्र पारेका हुन् ।

झापाका आठवटै नगरपालिका र ७ वटै गाउँपालिकामा गठबन्धनमा आबद्ध दलहरुले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन् भने संयुक्त घोषणापत्र तयार पारेर नगर एवं गाउँको विकासका योजना बोकेर उम्मेद्वारहरु घरदैलोमा पुग्न थालेका छन् । घरदैलोमा पुगेका उम्मेद्वारहरुले  स्थानीय तह निर्वाचनमा सहभागी हुन आम जनसमुदायलाई आह्वान गर्दै आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

संयुक्त गठबन्धनका तर्फबाट अर्जुनधारा नगरपालिकामा मेयरका प्रत्यासी उम्मेद्वार रञ्जिता कार्कीले  विकास सँगसँगै सुशासन र समाज निर्माणमा अहम भूमिका खेल्ने बताइन् । 

चुनावी प्रचारका लागि कार्यतालिका बनाएर १४ गतेबाट वडा–वडामा निस्किएको टोलीले अर्जुनधाराका १, २ र ३ नं वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उपप्रमुखका उम्मेद्वार जितेन योन्जन, मदन बुढाथोकी, महिला नेतृ सरस्वती सिटौला, नगरका कार्यबाहक सभापति प्रशान्त भण्डारी, उपसभापति चतुर्भुज काफ्ले, युवा नेता भरत बुढाथोकी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबीच संयुक्त गठबन्धनका तर्फबाट विर्तामोड नगरपालिकाको प्रमुखका प्रत्यासी भोजराज सिटौला, उपप्रमुखका उम्मेद्वार सिपी कडरिया, १ नम्बर वडाध्यक्षका उम्मेद्वार बलराम कार्कीसहितको टोलीले शुक्रबार  विर्तामोड–१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

गठबन्धनका तर्फबाट नगर विकासका समग्र योजना समेटिएको प्रतिबद्धता पत्रसहित उम्मेद्वारहरुको टोली कार्यकर्ताको साथमा घर–घरमा पुगेको हो । विर्तामोडका १० वटै वडामा प्रचार अभियान तीब्र बनाइएको सहकर्मीहरुले जनाएका छन् ।

यसैगरी झापा बुद्धशान्ति गाउँपालिकाका लागि संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार मनोज प्रसाई, उपाध्यक्ष पदका उम्मेद्वार पवन तिम्सिना, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, लय भण्डारीसहित कार्यकर्ताहरुको टोली बुद्धशान्ति–२ का घर–घरमा मत माग्न पुगेका छन् ।

यता कनकाई नगरपालिकाका लागि कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेद्वार रुद्रप्रसाद चिमरिया र उपप्रमुख आशा शर्मा शिवाकोटीसहित नेपाली कांग्रेसको टोली कनकाई–४ का स्थानीयको घर–घरमा पुगेका छन् । गठबन्धनका तर्फबाट शिवसतासीका लागि प्रमुख पदका उम्मेद्वार पर्शुराम ढुङ्गाना र उपप्रमुख पदका उम्मेद्वार महेन्द्र भटराई कार्यकर्ताको टोलीसहित जनताको घरदैलोमा पुगेका हुन् ।

यसैगरी मेचीनगरमा गठबन्धन दलले वडा नं –८ मा घरदैलो कार्यक्रम जारी राखेको छ । मेनपामा गठबन्धनका तर्फबाट प्रमुख पदका लागि इन्द्रबहादुर बुढाथोकी र उपप्रमुख पदका लागि प्रकाश भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

गठबन्धनका तर्फबाट भद्रपुरको प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा शिव राजभण्डारी, कचनकबल अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिका अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा पर्शुराम सुवेदी, गौरादह नगर प्रमुखमा रोहितकुमार शाह र उपप्रमुखमा पुष्प ढकाल, दमक नगरपालिका प्रमुखमा राम थापा र उपप्रमुखमा रेगिना भटराई प्रसाई, बाह्रदशी गाउँपालिका अध्यक्षमा खड्गप्रसाद राजवंशी र उपाध्यक्षमा शंकर सेढाइले उम्मेद्वारी दिएका छन् ।

यसैगरी गठबन्धन नभएको हल्दिबारीमा झापा गाउँपालिकामा पनि चुनावी प्रचारप्रसार तथा घरदैलोलाई पनि तिब्र बनाइएको जनाइएको छ ।