बिर्तामोड ।
बाम लोकतान्त्रिक गठबन्धन बिर्तामोडको संयुक्त प्रतिवद्धता तथा घोषणापत्र सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । शुक्रबार बिर्तामोडको अतिथी सदनमा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
गठबन्धनले मूल रुपमा सातवटा बुँदालाई प्रतिबद्धताको रुपमा अघि सारेको छ । बिर्तामोड नगरपालिकाको वृहत्तर विकासका लागि दीर्घकालिन गुरु योजना बनाएर काम गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र सहकारीकरण गर्ने, फोहोर मैला व्यवस्थापनका लागि स्थायी र व्यवस्थित ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने, डोमालाल रंगशालालाई व्यवस्थित गरी व्यायामशालाको निर्माण गर्ने, कृषिथोक बजारको उचित व्यवस्थापन गरि आधुनिक कृषि बजारको विकास गर्ने, नगरलाई व्यापारिक, व्यवसायीक, शैक्षिक र स्वास्थ्य उपचारको केन्द्रको रुपमा विकास गर्ने र बिर्तामोडका साना ठूला खोलाको पानीलाई एकिकृत निकास बनाई संयुक्त कोरिडोरमार्फत व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
गठबन्धनले ‘किसान नै हाम्रो पहिलो साथी ः त्यसैले कृषि क्षेत्र सबैभन्दा माथि’ भन्ने मूल नारा दिएर १६ वटा बुँदामा कृषि सम्बन्धि कार्यक्रम गर्ने उल्लेख गरेको छ । कृषक पहिचान गरी कृषक परिचय पत्र वितरण गर्ने, व्यक्तिगत तथा सामूहिक रुपमा सञ्चालन गरिएका व्यवसायीक कृषि तथा कृषि उद्योगहरुको व्यवसायीक क्षमता विकास गर्ने, कृषकहरुको लागि नगर सहकारी स्थापना गर्ने र सो मार्फत शित भण्डार निर्माण गरी सञ्चालन गर्ने गठबन्धनले प्रतिबद्धता जनाएको हो । नगरक्षेत्र भित्र रहेको बाँझो जमिनको उपयोग गर्ने, घना शहरी क्षेत्रमा व्यवस्थित कौशी खेती गर्न प्रोत्साहित गर्ने, साना किसानलाई अनुदानको पहुँचमा ल्याइ उनीहरुको आयआर्जनमा सहयोग गर्ने लगायत प्रतिबद्धता पत्रमा समावेश छन् ।
त्यस्तै गठबन्धनले शिक्षा तर्फ सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री विद्यालयका रुपमा विकास गर्दै प्राविधिक विद्यालयको रुपमा स्तरोन्नती गर्दै लैजाने, हरेक बर्ष एउटा सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्ने, विद्यालयमा आकस्मिक उपचार कोष स्थापना गर्ने, नगरभित्रका सबैखाले विद्यालयका शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने, विपन्न वर्गका विद्यार्थीलाई स्नातकोत्तर अध्ययन गर्न, एमवीवीएस, इञ्जिनियरिङ्ग, कृषि तथा पशु प्राविधिक शिक्षामा स्नातक गर्न आवश्यक सहयोग गर्ने, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले विद्यावारिधी गर्न चाहेमा सहयोग गर्ने लगायत बुँदा प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।
ज्येष्ठ नागरिकलाई घरैमा आँखा जाँचको व्यवस्था गर्ने, थप ओभरहेड ट्याङ्कीको व्यवस्था गरी हरेक घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने, स्वास्थ्य विमाको प्रक्रियालाई सहज बनाउने, नगर अस्पताललाई थप व्यवस्थित गरी हरेक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने, बर्षमा एक पटक हरेक वडामा निःशुल्क घुम्ती शिविर सञ्चालन गर्ने लगायतका प्रतिबद्धतालाई स्वास्थ्य, सरसफाई र खानेपानीमा समेटिएको छ ।
स्मार्ट सिटीको पूर्वाधार तयार गर्न हरित रिङ्ग रोडको दीर्घकालिन गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने, नगर गौरव योजना अन्तर्गत ज्येष्ठ नागरिक पार्क तयार गर्ने, नगरमा भएका मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, गुम्बा, सामुदायिक भवन, पोखरीहरुको संरक्षण र सम्बर्धन गर्ने, बिर्तामोडमा देखिएको पार्किङ्गको समस्या समाधान गर्ने, सडक ढल निकासलाई व्यवस्थित बनाउने, बिर्तामोड चोकमा देखिएको ट्राफिक समस्या समाधानका लागि फ्लाई ओभर ब्रिज बनाउने र ट्राफिक लाइट व्यवस्था गर्ने, एक वडा एक खेलकुद मैदानको अवधारणा कार्यान्वयनमा ल्याउने, मुख्य सडकका शाखा बाटाहरुलाई कालोपत्रे तथा पेभर्स लगाउने आदि पूर्वाधार विकास अन्तर्गत समेटिएको छ ।
गठबन्धनले सुशासन, जवाफदेहिता, सामाजिक सुरक्षा, पर्यटन विकास, उद्योग व्यापार व्यवसाय लगायतको क्षेत्रलाईपनि महत्वका साथ समेटेर घोषणा पत्र निर्माण गरेको छ ।
गठबन्धनका तर्फबाट बिर्तामोड मुल निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मेयर पदका उम्मेद्वार भोजराज सिटौला, उपमेयर पदका उम्मेद्वार सीपी कडरियालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड मुल निर्वाचन परिचालन समितिका संयोजक युवराज दाहालले गरेको नेकपा माओवादी केन्द्र बिर्तामोड सचिव गणेश कालिकोटेले जानकारी दिए ।