मेचीनगर ।
बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मेचीनगरमा माओवादी केन्द्रबाट २१ जना उम्मेद्वार चुनावी मैदान उत्रिएका छन् । काँग्रेससहितको गठबन्धनमा चुनावी मैदानमा होमिएको माओवादी केन्द्रबाट मेचीनगरमा उपप्रमुखसहित ४ वटा वडामा वडाध्यक्ष र १५ वटै वडामा वडासदस्यको उम्मेद्वार बनाइएको छ ।
माओवादी केन्द्रबाट उपप्रमुखमा प्रकाश भण्डारी उम्मेद्वार बनेका छन् । मेयरमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकी उम्मेद्वार छन् । गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो अभियान सुरु गरेका छन् । मेयरका उम्मेद्वार बुढाथोकी र उपमेयरका उम्मेद्वार भण्डारीले बुधबार काँकरभिट्टा बजार क्षेत्रमा घरदैलोमा पुगेर भोट माग्न थालेका छन् ।
मेचीनगरमा बलियो बनेको माओवादी केन्द्रबाट उपमेयरका उम्मेद्वार रहेका भण्डारी विद्यार्थी राजनीतिदेखि नै माओवादी आन्दोलनमा होमिएका युवा नेता हुन् । मेचीनगर–९ निवासी भण्डारी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नं १ का इन्चार्ज हुन् । बौद्धिक युवा नेताको छवि बनाएका भण्डारी कुशल संगठकका रुपमा परिचित छन् ।
माओवादी केन्द्रले वडाध्यक्षमा उठाएका उम्मेद्वारहरु पनि लोकप्रिय छवि बनाएका व्यक्ति छन् । वडा नं १२ मा वडाध्यक्षको उम्मेद्वार बनेका नगेन्द्र धिमालले यसअघि पनि सोही पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् । उनले पाँच वर्षमा गरेको कामको मूल्यांकन गरेर वडाबासीले फेरि दोहोर्याउन आग्रह गरेअनुसार उम्मेद्वारी दिएका छन् । धिमाललाई जनताले रुचाइएको जनप्रतिनिधिका रुपमा लिइने गरेको छ ।
यस्तै, वडा नं १४ मा बाबुलाल सुब्बा माओवादी केन्द्रबाट साझा उम्मेद्वार बनेर चुनावी मैदानमा छन् । उनी ०७४ सालको निर्वाचनमा दोस्रो भएका थिए । खेलकुद र समग्र वडाको विकास सँगसँगै गर्ने उदेश्य बोकेर उनी उम्मेद्वार बनेका छन् । कराते संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिसकेका सुब्बाले खेल जगतबाट नगरलाई चिनाउने काम गरेका छन् ।
साझा गठबन्धनका अर्का उम्मेद्वार शान्तिराम चिमरिया समाजसेवीका रुपमा परिचित छन् । वडा नं। ११ मा वडाध्यक्षको उम्मेद्वार बनेका उनी जनप्रतिनिधि बन्ने दौडमा छन् । विकासप्रेमी युवाको छवि बनाएका चिमरिया उक्त वडामा सबैले रुचाएका व्यक्तिमा गनिन्छन् ।
यता, माओवादी केन्द्रबाट मेचीनगर वडा नं २ को वडाध्यक्षको उम्मेद्वार बनेका गोपीकृष्ण रिजाल युवामाझ निकै लोकप्रिय छन् । सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका खेल्दै आएका रिजाल जनप्रतिनिधि बनेर वडाको समग्र विकासमा लाग्ने बताउँछन् । माओवादी केन्द्रले मेचीनगरको वडा नं १ मा पदमबहादुर श्रेष्ठलाई वडा सदस्यको उम्मेद्वार बनाएको छ भने वडा नं ३ मा तेजप्रसाद भन्डारी वडा सदस्यको उम्मेद्वार बनेका छन् ।
यस्तै, वडा नं–४ मा खगेन्द्र बिश्वकर्मा, वडा नं ५ मा उमेश उप्रेती, वडा नं ६ मा अन्जली विश्वकर्मा, वडा नं ७ मा विमला चम्लागार्इं ९आचार्य०, वडा नं ८ मा तुलसाकुमारी खत्री, वडा नं ९ मा भक्तिप्रसाद आचार्य वडा सदस्यको उम्मेद्वार बनेका छन् । यसैगरी, वडा नं १० मा चन्द्रकुमारी राई, वडा नं ११ मा पवित्रा सेन्चिउरी, वडा नं १२ मा रुपेश मेचे, लीला बराइली, वडा नं १३ मा दिलकुमार राजवंशी, वडा नं १४ मा चन्दशेर लिम्बु, सीता राजवंशी र वडा नं १५ मा काजी ९भक्तराज० सुब्बा वडा सदस्यमा गठबन्धनबाट साझा उम्मेद्वार बनेका छन् ।