अर्जुनधारा ।
अर्जुनधारा नगरपालिकाका लागि मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुलाई नेतृत्वमा नपु¥याएसम्म सामाजिक समावेशीताका सवाल सम्बोधन नहुने बताउँदै आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गरेकी छिन् ।
अर्जुनधारा नगरपालिकाका लागि गठबन्धन दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कार्कीले आफू जीवनभर पार्टी र जनताको सेवामा सक्रिय रहने बताउँदै प्रत्यासी उम्मेद्वार कार्कीले नगरको विकास र समुन्नतिका लागि स्पष्ट गुरुयोजना लिएर उम्मेद्वार बनेको बताएकी छिन् ।
कार्यक्रममा उपमेयरका उम्मेद्वार जितेश योन्जनले गठबन्धन दलको घोषणापत्रमा नगर विकासको दीर्घकालीन गुरुयोजना बनाइएको बताउँदै आर्थिक रुपमा विपन्न वर्गलाई माथि उठाउने कार्यक्रम समेटिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुले जन आन्दोलनको उपलब्धी र संविधानको रक्षाका निमित्त बनेको गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आम जनसमुदाय समक्ष अपिल गरिन् ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रतिगमन विरुद्ध संघर्षरत राजनीतिक दलहरुले इमान्दारीपूर्वक पार्टीको निर्णयलाई कार्यान्वयन गर्दै गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे । प्रतिगमन विरुद्धको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै सचिव हुमागाईले गठबन्धन दलका आधिकारिक उम्मेद्वारका विरुद्ध असहयोग नगर्न सबैमा आग्रह गरेका छन् ।
गठबन्धन दलको चुनावी प्रचार–प्रसारका लागि बैशाख १४ देखि २४ गतेसम्मको कार्यतालिका बनाइएको छ । जस अनुसार १४ गते वडा नं–१ बाट शुरु गरी सबै वडास्तरमा निर्वाचन प्रचार–प्रसार अभियान सञ्चालन गरिने छ।