बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको गठबन्धनमा माओबादीका तर्फबाट उममेयर, दुईवटा वडाअध्यक्ष तथा ११ जना सदस्य उम्मेद्वार बनेका छन् ।
बिर्तामोडको मेयरमा कांग्रेसका भोजराज सिटौला र उपमेयरमा माओवादी केन्द्रका सीपी कडरिया उम्मेद्वार बनेका छन् । त्यस्तै माओवादीलाई वडा नं. ७ र वडा नं. ९ को वडाअध्यक्ष प्रदान गरिएको पार्टीका नगर उपाध्यक्ष जेबी जवेगुले जानकारी दिए । वडा नं. ७ मा कृष्ण सावा लिम्बु र वडा नं.९ मा मोहनप्रसाद सुब्बालाई माओवादीका तर्फबाट उम्मेद्वार बनाइएको बताइएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको छ । कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुखमा १० वटा पालिकामा सहमति गरेका छन् । त्यसमध्ये ९ वटा पालिकाको प्रमुख र एउटाको उपप्रमुख नेपाली कांग्रेसले लिएको छ भने नेकपा माओवादीले ९ वटा पालिकाको उपप्रमुख लिएको छ । दमक नगरपालिकाको प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने गठबन्धनबिच सहमति भएको छ ।
हल्दिबारी गाउँपालिकाको प्रमख नेकपा माओवादीले लिने गरी छलफल भइरहेको माओवादी केन्द्र झापाले जनाएको छ । हल्दिबारीमा माओवादी र कांग्रेस दुवै दलले आफ्नो तर्फबाट प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । बाँकी पालिकामा मित्रवत प्रतिष्पर्धा गर्ने दलहरु बिच सहमति भएको छ ।