बिर्तामोड ।
झापाको बिर्तामोडमा आयोजित स्थानीय निर्वाचनको सन्दर्भमा बालमैत्रीका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा झापाका राजनीतिक दलहरुले आ–आफ्नो भनाई प्रस्तुत गरेका छन् ।
प्रथम बहेउदेश्यीय सहकारी संस्था तथा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल झापाको संयुक्त आयोजनामा बिहीवार भएको अन्तरक्रियामा उनीहरुले आ–आफ्नो भनाई प्रस्तुत गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का झापा संयोजक राजु आचार्य (अग्नि) ले सवै बालबालिकालाई एउटै हिसावले हेर्न नहुने बताए । बालबालिकालाई ठाउँ, बर्ग, सामाजिक बनौट, आर्थिक रहनसहनका हिसावले बर्गीकरण गरेर बालमैत्री कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले पार्टीले बालबालिकालाई कुनैपनि राजनीतिक गतिविधिमा समावेश नराइने प्रतिवद्धतासमेत ब्यक्त गरे ।
नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवेले नेपाली कांग्रेसले घोषणापत्रमा गरेका प्रतिवद्धता पूरा गरे नगरेको अधिकारकर्मीले खोज्नु पर्ने बताएका छन् । उनले संविधानमा लेखेका बालबालिकाको सर्वाङ्गी अधिकार हनन् गर्न नहुने जिकिर गरे ।
नेकपा एमालेका झापा सचिवालय सदस्य देवराज कार्कीले बालबालिकाका हकअधिकारलाई घोषणापत्रमा समावेश गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले बालबालिकाको हकहितका लागि ध्यान दिदै सुन्दर भविश्य निर्माणका निम्ति ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै नेकपा .(एकीकृत समाजबादी) का झापा अध्यक्ष वेदराज रेग्मीले बालबालिका अधिकार बनेर मात्र नहुने बताउँदै सामुहिक कार्यन्वयन गर्नु पर्ने बताए ।
मञ्चका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख राजनीतिक दलका प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका झापा सभापति थेवे, नेकपा (माओवादी केन्द्र) झापाका संयोजक अग्नि, नेकपा एमालेका झापा सचिवालय सदस्य कार्की, नेकपा (एकीकृत समाजबादी) का झापा अध्यक्ष रेग्मीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
शिक्षा उपसमिति सदस्य फडिन्द्र दाहालले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगर बालसञ्जालकी अध्यक्ष भावना पोखरेल, कनकाई नगर अध्यक्ष अभिषेक मिश्रलगायतले बालबालिका सम्बन्धि धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रथम सहकारीका अध्यक्ष दिपक पाण्डेले गरेका थिए ।