हल्दीवारी ।
नेपाली कांग्रेसका तर्फबाट झापाको हल्दीवारी वडा नं. ४ को वडाध्यक्षमा होमप्रसाद चुडाल सर्वसम्मत् उम्मेदवार बन्ने भएका छन् ।
चुडाल गाउँपालिकाका अध्यक्षका दावेदारसमेत हुन् भने चुडाल यसअघिका हल्दिवारीका कांग्रेसबाट निर्वाचित एकमात्र जनप्रतिनिधि हुन् । उनले २०७४ को स्थानिय तह निर्वाचनमा वडाअध्यक्षमा बिजय हासिल गरेका थिए ।
उनले वडामा रचानात्मक भौतिक तथा सामाजिक कार्य गर्दै आएका कारण कांग्रेसका लोकप्रिय नेताका रुपमा परिचित छन् । उनले आफुले सरकारबाट पाएको सम्पूर्ण पारिश्रमिक सामुदायिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री, पोशाक, ब्याग प्रदान गर्दै आएका छन् । त्यस्तै वडाअध्यक्षका लागि आएको सवारीसाधन सरकारी गोडी नचड्ने भन्दै गाउँपालिकालाई नै फिर्ता गरेका थिए । कोभिड–१९ महामारीमा उनले खेलेको भुमिकाले गर्दा उनी सवैको मन जित्न सफल भएका हुन् ।
केही अधुरा र अपुरा कार्य गर्न पनि आफु वडामै रहने निर्णय गरेको चुडालले बताएका छन् । नेता चुडाललाई कांग्रेसको ४ नं वडा समितिले उम्मेद्बार बनाउने निर्णय गरेको हो । वडा नं. ४ को वडा सदस्यमा भने एकदर्जन भन्दा बढी आंकाक्षी रहेको जनाइएको छ ।
त्यसैगरी गाउँपालिका अध्यक्षमा पार्टीका क्षेत्रीय सचिव सामाजिक अभियन्ता भुपाल बस्नेत, पार्टीका प्रदेश ‘ख’ सभापति तुलसीप्रसाद ओली, पार्टीका गाउँ सभापति गंगाप्रसाद प्रसाई र क्षेत्रिय प्रतिनिधि विष्णु उप्रेती दावेदार रहेका छन् ।