झापा । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) झापाले एमसीसी विरुद्ध बिर्तामोडमा प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसीसी टेवल गर्ने राष्ट्रघाटी कदम विरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) र वाईसिएलले बुधवार बिर्तामोडमा प्रदर्शन गरेका हुन् । 

प्लेकार्डसहित बिर्तामोडमा भेला भएका बिद्यार्थी र वाईसिएलका नेता तथा कार्यकर्ताले नारासहित मुक्तिचोकमा र्याली गरेका थिए । उनीहरुले एमसीसी खारेज गर, अमेरिकी साम्राज्यबाद मुर्दाबाद, एमसीसी चाइदैन, देश बेच्न पाइदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गरलगायतका नारासहित बिर्तामोड मुक्तिचोकको  परिक्रममा गरेका थिए । 

mb4

र्यालीपछि कोणसभामा परिणत सभालाई सम्बोधन गर्दै वाईसिएलका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज कुमार आचार्यले एमसीसी रोक्ने एक मात्र प्रचण्ड भएको बताउँदै एमसीसी विरुद्ध सदन र सडकबाटै आन्दोलनको आधी ल्याउने चेतावनी दिएका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश नं. १ की उपाध्यक्ष मनिषा आचार्यलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए भने सञ्चालन अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रन्जन धमलाले गरेका थिए । 

mb5

विरोध प्रदर्शन कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ विजय, प्रदेश सदस्य बोधराज दाहाल असिम, डिल्ली घिमिरे हिक्मत, कुवेर श्रेष्ठ अरुण, ज्योतिसिंह दर्लामी, अखिल नेपाल खेलकूद महासंघका केन्द्रीय सदस्य मदन खड्का, नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, झापा सचिवालय सदस्य बासु दुलाल, प्रकाश भट्टराई, बिर्तामोड नगर इन्चार्ज युवराज दाहाललगायतको उपस्थिति रहेको थियो ।