बिर्तामोड ।
नेपालको चर्चीत रियालिटी शो नेपाल आईडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्न सपोर्ट ग्रुपले अभियान सञ्चालन गर्ने भएको छ । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडलबाट आदेश टप १२ मा परेसँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए ।

सपोर्ट ग्रुपले झापाको बिर्तामोडमा विहीवार पत्रकार भेटघाट गर्दै पौडेललाई सपोर्ट गर्ने जनाएको हो । २४ बर्षिय आदेशले आफ्नो कर्मथलो काठमाडौलाई बनाए पनि उनको बाल्यकाल बिर्तामोडमै बिताएको पत्रकार भेटघाटका क्रममा जनाइयो ।
आदेशकी आमा पनि पेशाले गायक नै भएको बताउँदै सपोर्ट ग्रुपकी सोनु पुडासैनीले आमाले नै उनको प्रतिभालाई तिखारेको बताइन् । बिदेशमै आदेशको बुबाको मृत्यु भएपछि उनको पारिवारिक जिम्मेवारी थपिएसँगै उनी काठमाडौंका रेष्टुरेन्ट र पपहरुमा परिवारको जिविकोपार्जनका लागि गायनलाई अगाडि बढाउँदै गरेको सपोर्ट ग्रुपकी पुडासैनीले बताइन् ।
हजारौ प्रतिस्पर्धी मध्ये १ सय २६ मा छानिएका उनी १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुततीका आधारमा टप १२ मा पर्न सफल भएका उनको भोली शुक्रबारबाट भोटिङ साउण्ड सुरु हुँदैछ । सपोर्ट ग्रुपले उनलाई जिताउन समिति नै निर्माण गर्ने पत्रकार भेटघाटका क्रममा जानकारी दिएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले आदेशको प्रतिभाको प्रशासा गर्दै उनलाई सहयोग गर्ने बताए । त्यस्तै बिर्तामोड–८ का वडा अध्यक्ष अजय कार्कीले आदेशको भोटका लागि कार्यालयमार्फत २० हजार र ब्यक्तिगततर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।