बिर्तामोड । 

बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा झापाकी ९ बर्षिया बालिका अनुजा कडरियालाई जिताउन झापामा अभियान सुरु गरिएको छ । 

३ बर्षको उमेरदेखि गायनमा चाँसो राख्दै आएकी बालिका कडरिया हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुँदै गरेको ‘द भ्वाइस किड्स’ भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् । 

बाल गायिकाका बुबा कुमार कडरियाले आइतवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै बालगायिका कडरियालाई भोट गरेर जिताउन सवै समक्ष आग्रह गरेका छन् ।

 बुबा कडरियाले भने ‘ छोरीले ए बा दशैं आयो, तिहार आयो भनेर ३ बर्षको उमेरदेखि गाउन थालेकी हुन् ।’ त्यसपछि शिक्षक तथा छरछिमेकीको सल्लाह अनुसार सरगम संगितालयमा गायनका लागि पठाउने गरेको बुबा कडरियाले बताए । उनले ७ बर्षको उमेरमा प्याब्सनले आयोजना गरेको गायन प्रतियोगितामा प्रथम भएकी बताए ।  

निदी माध्यमिक बिद्यालयमा कक्षा–४ मा अध्ययनरत बालिका कडरिया पढाईमा पनि अब्बल रहेको शिक्षक भिष्म प्रसाईले बताए । ‘पढाईमा अब्बल छिन्’ शिक्षक प्रसाईले भने ‘कक्षामा पहिलो दोस्रो हुन्छिन् ।’ 

पत्रकार भेटघाटमा साहित्यकार भगवती ढुङ्गेल, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, समाजसेवी दीपककुमार दाहाल, सरगम संगितालयका दीपक रायमाझी, जनक खड्कालगायतको उपस्थिति रहेको थियो । 

बालिकालाई भोट गर्न नेपालमा रहनेले खल्ति एप्प र नेपाल बाहिरबाट खल्ति डटकम डाउनलोड गरेर गर्न सकिने गायिकाका दाजु प्रज्वल कडरियाले बताए । बालिकाले आफै एल्बम ‘साना हाम्रा कृष्ण भाग १ र २’ दुईबर्ष अघि नै निकालेकी दाई प्रज्वलले बताए । त्यस्तै कोच प्रविशा अधिकारीको टिममा रहेकी अनुजा कुन्ती मोक्तान जस्ता भर्सटायल गायिकाको गित पनि सहज रुपमा गाउने गरेकी छिन् ।

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गरेको हो ।