बिर्तामोड ।
‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो ।

द भ्वाइस किड्स नेपालको ब्याटल राउण्डबाट लाइभ राउण्डका लागि छानिएकी १९औं प्रतियोगी हुन्– अनुजा । उनले कोच प्रविशाको टिमबाट व्याटलमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले सारा महर्जन र अमिता थापालाई पछि पारेकी थिइन् । ‘कहिले काहिँ मलाई पनि हेरिदेऊ फर्केर, सँधैभरि मदेखि नजाउन तर्केर’ बोलको गीत गाएकी थिइन् । कुन्ती मोक्तानको आवाजमा सजिएको यो गीत जो कहिले सहजै गाउन नसक्ने संगीत क्षेत्रका अगुवाले बताउँदै आएका छन् । यो गीत गाएर चार जना निर्णयकलाई आफूतिर आकर्षित गरेकै कारण उनको चर्चा झापामा मात्रै चलेको छैन देशभर नै चुलिएको छ । नौ वर्षे कलिलो उमेरमा कुन्ती मोक्तानको यस्तो कठिन गीतलाई दुरुस्तै गाएकै कारण गायन क्षेत्रमा अनुजाले धमाका मच्चाएको एकथरीको विश्लेषण छ ।
आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् ।
झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भजन गाउन समेत रुचाउने अनुजा नृत्य र आर्टमा समेत अब्बल छिन् । अध्ययनमा समेत सँधै प्रथम स्थान हासिल गर्दै गायन क्षेत्रलाई अघि बढाएकी अनुजा झापामा हुने विभिन्न सांगीतिक र साहित्यिक कार्यक्रममा यो उमेरमै प्रमुख अतिथि बन्दै अरुलाई समेत हौसला र प्रेरणाकी पात्र बन्ने गरेकी छिन् ।
स्वर सम्राट नारायण गोपाल, तारादेवी, फत्तेमान, कुन्ती मोक्तान, जस्ता गायकले गाएका गीत गाउन रुचाउने अनुजा हिमालय टेलिभिजनबाट प्रत्येक शुक्रवार र शनिवार प्रशारित ‘द भ्वाइस किड्स नेपाल’मा आफ्नो प्रस्तुतिकै कारण चर्चाको शिखरमा छिन् ।
साहित्य चौतारी झापाद्वारा समेत सम्मानित उनी झापाका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाबाट सम्मानित तथा अभिनन्दित भएकी छिन् । खेलकुद प्रति पनि उत्तिकै रुची राख्ने उनी खेल क्षेत्रमा समेत अब्बल छिन् ।