बिर्तामोड । 

नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति समेत रहेका पत्रकार हुँमागाईले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरेका हुन् ।  

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनबाट सचिव पदमा  निर्वाचित भएपछि पत्रकार हुमागाईले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका हुन् । आज (आइतवार) नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिएका छन् । उनले राजीनामा पत्र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेका थिए ।  

२० बर्षको उमेर हुँदा देखिनै आफू २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध रहेको बताएका हुँमागाईले आफू  ५३ बर्ष पूरा गरुन्जेल लगभग ३४ बर्षसम्म झापामा रहेर सक्रिय पत्रकारिता गरेको बताए । 

यसअवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव, उपाध्यक्ष हुँदै अध्यक्षसमेत भएका थिए ।  सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुमागाईले बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव लोकराज ढकाल, पूर्व अध्यक्ष मोहन काजी न्यौपाने लगायतले पत्रकार हुमागाईलाई शुभकामना दिएका थिए ।