मेचीनगर ।
झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका झापाका तीन जना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ ।
प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा. गोपाल सेडाई, मेचीनगर–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई पुरस्कृत गर्ने भएको हो ।
प्रतिष्ठानको आज बसेको प्रतिभा छनौट समितिको बैठकले पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष एवम् छनौट उपसमितिका संयोजक हरिचरण बानियाँले जानकारी दिए ।
दुई वर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र उहाँको दाजुभाईहरुको संयुक्त पहलमा स्वर्गवासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको सुरुवाती अक्षय कोष खडा गरेको छ ।
कोषको व्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई जनही. ३१ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्रसहितको उत्कृष्ट पुरस्कार दिने गरिएको छ ।