काँकरभिट्टा । 

संगीत विधामा रुची राख्नेहरुलाई लक्षित गरी मेचीनगर–६ स्थित  काँकरभिट्टामा डोरेमी म्यूजिक स्कूल सञ्चालनमा आएको छ ।  काँकरभिट्टा निवासी बिजु सरकार र भाष्कर आचार्यले गत शनिबारबाट भानु टोलमा सो स्कूल सञ्चालनमा ल्याएका हुन् । 

उक्त स्कूलका सञ्चालक सरकार गितार र गायनमा चिनिएका युवा हुन् । उनले गितार र गायन सम्बन्धी आधारभूत तहको प्रशिक्षण प्रदान आएका छन् । प्रशिक्षार्थीलाई सर्वसुलभ शुल्कमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न स्कूल सञ्चालन गरिएको अर्का सञ्चालक आचार्य बताउँछन् । 

उनीहरुका अनुसार वाद्यवादन विधामा पूर्वी क्षेत्रकै ‘कोहिनुर’ भनेर चिनिएका स्थापित प्रशिक्षक भीमबहादुर केरुङलगायत अन्य अनुभवी प्रशिक्षकले सैद्धान्तिक र व्यवहारिक तालिम दिँदै आएका छन् । 

‘सांगीतिक क्षेत्रका पारखीलाई खारिएका संगीत शिक्षकहरुबाट एकै थलोमा गुणस्तरीय तालिम दिने उद्देश्यले यस्तो अवधारणा ल्याएका हौं’–सञ्चालक तथा प्रशिक्षक सरकारले भने । 

स्कूलका प्रमुख प्रशिक्षक समेत रहेका केरुङले भारतको इलाहबादस्थित प्रयाग संगीत समितिबाट गायन विधामा सिनियर डिप्लोमा, भाइलिनमा सिनियर डिप्लोमा र ब्याचलर म्यूजिक तहको अध्ययन पूरा गरेका छन् । 

बेलायतको राजधानी लनडनस्थित ट्रिनिटि कलेजबाट गितार विधामा गे्रड ‘टु’ र ‘फाइव’ तहको पढाई पूरा गरेका उनी उक्त विधामा ग्रेड ‘एट’ को तयारीमा  छन् । गितारमा मास्टर्स तहको कोर्ष पूरा गर्ने सोच रहेको केरुङले सुनाए । 

जीवनको उर्जाशील समय सांगीतिक क्षेत्रमा समर्पण गरेका उनलाई अन्तर्राष्ट्रिय संगीत परीक्षा बोर्ड अस्ट्रेलियाले संगीत शिक्षक घोषणा गरेर सम्मान गरेको थियो । 

उक्त स्कूलमा उनले गितार, किबोर्ड र भाइलिन विधामा प्रशिक्षण प्रदान गर्दै आएका छन् भने सञ्चालक सरकारले गितार र गायन, गौरव लिम्बूले ड्रम, पवन अधिकारीले तबला, मित्र मगरले बाँसुरी र सञ्जोग गुरुङले गायन विधामा तालिम दिँदै आएका छन् । 

हाल १६ जना प्रशिक्षार्थीहरुले उक्त स्कूलमा संगीत शिक्षकहरुबाट शनिबार र मंगलबार बिहान ११ बजेदेखि करिब दुई घण्टा संगीतका विभिन्न विधामा प्रशिक्षण लिँदै आएका छन् ।