- उद्धव पुरी
झापा ।
मेहनत, सीप र जागर भए कुनैपनि काम महिला पुरुष भन्दा कम छैनन् भन्ने उदाहरण बनेकी छिन् झापा हल्दिबारी–२ की केसमति राजवंशी । हल्दिबारी चोकमा १५ बर्षदेखि उनी साइकल मर्मत सेन्टर सञ्चालन गरेको बताउछिन् । उनलाई केहि बर्ष अघिसम्म घर खर्च चलाउन पनि धौ–धौ थियो । तर, साइकल मर्मत आफुले समालिन् श्रीमानले अर्कै काम गर्न थाले अनि आर्थिक संकट क्रमश कम हुँदै गरेको उनको भनाई छ ।
बिवाह गरेको १७ बर्ष भएको बताउने उनको २ बर्षसम्म केहि नगरी बस्दा घरखर्च चलाउन पनि छिमेकीसँग सर–सापट गर्नु पर्ने बाध्यता थियो । तर, बिवाह गर्नु अघि नै श्रीमान मोहनदास राजवंशीले सञ्चालन गर्दै गरेको राजेश साइकल मर्मत तथा बिक्री वितरण सेन्टरमा काम सिक्न थालेपछि अहिले उनको घरमा आर्थिक समस्या हट्दै गएको केसमति बताउछिन् । उनी आफु साइकल मर्मत गर्नमा पुरुष सरह भएको दावी गर्छिन् ।
उनले साइकल मर्मत गर्न थालेपछि आर्थिक संकट हटेको बताइन् । साइकल मर्मत सेन्टर उनले समालिदिएपछि श्रीमान मोहन दास क्याटरिङको काम गर्ने गरेको उनले जानकारी दिइन् । ‘खेतीपाती नै यहिँ हो’ केसमतिले भनिन् ‘काम गरेर खान के को लाज चोरेर पो खानु हुँदैन ।’ उनले थपिन् ‘छोराले मात्र होइन छोरीले पनि छोरा सरह काम गर्न सकिन्छ ।’
उनी साइकल मर्मतका सम्पूर्ण काम गर्न सक्ने बताउँदै भन्छिन्‘ नयाँ साइकल सवै फिट गर्न सक्छु ।’ साइकलको पम्चर, रिङ टायल, हप, टायर फेर्ने, ब्यारिङ चेन्ज गर्ने सवै काम गर्न सक्ने उनी बताउछिन् । उनका दुई जना छोराहरु भएको बताउँदै उनले भनिन् ‘जेठो छोरो राजेश कक्षा–१० र कान्छो छोरो हरेश कक्षा–७ मा बोडिङ स्कुल पढ्दै छन् ।’
उनले साइकल मर्मतबाट सवै खर्च कटाएर महिनामा साइकल मर्मतबाट २० देखि २५ हजार रुपैयाँ आम्दानी हुने गरेको बताइन् । उक्त कमाईले घरखर्चमा सहज भएको उनको भनाई छ । देशमै मेहनत र परिश्रम गर्ने हो भने वैदेशिक रोजगारीका लागि विदेशिनु नपर्ने उनले बताइन् । उनले काम यो पुरुषले गर्ने त्यो महिलाले गर्ने नभएको बताइन् । धेरै महिलाहरु पछिल्लो समय रोजगारीका लागि विदेशिने गरेका छन् । तर, मेहनत र जागर भए आफ्नै देशमा परिवारसँगै बसेर पनि बिदेश सरह कमाई गर्न सकिने उदाहरण बनेकी छिन् केसमति ।