झापा । 

गुटगत राजनीतिले गिजोलिएको नेपाली काँग्रेसले वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । पालिका अधिवेशनको परिणाम आएसँगै पार्टी भित्र ‘लाइन’ को चर्को बहस सुरु भएको छ । राजनीतिमा सधैँ महत्व राख्ने झापामा पनि गुटको चर्चा चुलिँदै गएको छ । झापा गृहजिल्ला भएका नेताहरु केन्द्रीय राजनीतिमा रहेकाले पनि जोडघटाउ गर्न थालिएको हो ।

झापामा काँग्रेस भित्रको समीकरणबारे चर्चा गर्दै एक नेताले भने, ‘झापामा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको कित्ता छैन । शेरबहादुर देउवा भन्दा पनि विश्वप्रकाश जता लाग्यो, त्यतै हुने हो । यहाँ त कृष्ण सिटौला र विश्वप्रकाशको मात्रै कुरा हुन्छ । देउवा र पौडेलको हुँदैन । शर्मा र सिटौलाको हुन्छ ।’

स्थानीय तहको अधिवेशन सकिएपछि अब सिटौला र शर्माको ध्यान जिल्ला अधिवेशनतर्फ सोझिएको छ । वर्तमान जिल्ला सभापति उद्धव थापाको ठाउँमा आफू निकटस्थलाई जिताउन सिटौला र शर्मा लागिपरेका छन् । विगतमा सिटौला टिममा रहेका वर्तमान उपसभापति राम कट्टेल अहिले झापाको सभापतिका बलियो नै दाबेदार हुन् । तर, उनी अहिले विश्वप्रकाशको प्यानलबाट चुनावी मैदानमा उत्रँदैछन् ।

अर्कोतर्फ पूर्व उपसभापति देउमान थेबे सभापतिका प्रवल दाबेदार हुन् । उनी केशवकुमार बुढाथोकीको प्यानलबाट सभापतिका दाबेदार बनेका छन् । क्षेत्र नम्बर ४ मा राम्रो प्रभाव रहेका बुढाथोकी र कृष्ण सिटौलाबीच झापामा टक्कर पर्दै आएको छ । यसपटक जिल्ला सभापतिको चुनावमा कट्टेल र थेबेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पछिल्लो समय जिल्ला कार्यसमितिको संरचनामा फेरबदल आएको र विश्वप्रकाशले सिटौलालाई टक्कर दिन थालेको शर्मा निकटस्थ युवा नेताहरूको तर्क छ । राम कट्टेल सिटौलाको खेमाबाट उपसभापति बनेका थिए । अहिले उनी विश्वप्रकाशसँगै छन् । मेचीनगरबासी उनीहरू एउटै वडाका बासिन्दा पनि हुन् । त्यस्तै, प्रेम सम्बाहाम्फे हिजो विश्वप्रकाशकै खेमाबाट सचिव बनेका हुन् । हिजो सिटौला खेमामा रहेका तारावीर कटुवाल पनि अहिले विश्वप्रकाशसँगै छन् ।

सहसचिव राजेन्द्र भण्डारी पनि अहिले विश्वप्रकाशसँगै छन् । अहिले जिल्ला कार्यसमितिमा रहेका धेरैजना विश्वप्रकाशको लाइनमा ढल्किएका छन् । अर्का, सचिव देवी राजवंशी पनि विश्वप्रकाशकै खेमामा छन् । जिल्ला सचिव तारावीर कटवाल एक नम्बर क्षेत्रमा पर्ने मेचीनगरका बासिन्दा हुन्, जसले राम कट्टेललाई सहयोग गर्ने देखिन्छ । अर्का सचिव प्रेम सम्बाहाम्फे पनि मेचीनगरकै भएकाले उनी पनि राम कट्टेलतिरै नजिक छन् ।

केशव कुमार बुढाथोकीको साथ रहेकाले देउमान थेबे जिल्ला सभापतिका बलिया दाबेदार मानिन्छन् । विश्वप्रकाश शर्मा निकट रहेर चुनाव लड्न लागेका राम कट्टेलले देउमानलाई हराउन त्यति सजिलो नरहेको नेताहरू बताउँछन् ।

वडामा छेक्दा, नगरमा अवसर

हालै सम्पन्न पालिका अधिवेशनबाट नेपाली कांग्रेस मेचीनगरले नयाँ नेतृत्व पाएको छ । मेचीनगर वडा नं. १० का वडाध्यक्षसमेत रहेका सुदय पनेरुले अबको मेचीनगर काँग्रेस हाँक्नेछन् । वडाबाटै नेतृत्व चयन गर्न सकस भएको नेपाली काँग्रेसले अन्ततः पालिकाको निर्वाचन सम्पन्न गरेको छ । वडामा आफूहरुलाई अवसर दिनुपर्ने अडान राखेका नेताहरुले पालिकामा अवसर पनि पाएका छन् ।

काँग्रेस मेचीनगर सचिवमा निर्वाचित मुकेश लिम्बूले वडा सभापतिमा उठ्ने इच्छा राखेका थिए । सुरुमा वडा नं. ९ को वडा सभापति बनाउन उनले नेताहरुसँग लविङ गरेका थिए । तर, नेताहरुले सहमति गराएर उनलाई वडा सभापतिबाट ‘ब्याक’ गराए ।

नेताहरुको सल्लाह बमोजिम लिम्बूले वडा सभापतिमा उम्मेद्वारी दिएनन् । पछि मेचीनगर सचिव पदमा उठ्ने भनेर आफ्नो उम्मेद्वारी घोषणा गरे । अन्ततः उनी सचिव पदमा निर्वाचित भएका छन् । मेचीनगर काँग्रेसका एक नेताले भने, ‘वडामा छेक्न खोज्दा, नगरमा अवसर पाउने अवस्था बन्यो ।’ कांग्रेसले नेता तथा कार्यकर्तालाई उचित व्यवस्थापन र जिम्मेवारी दिने कुरामा सही निर्णय गर्न नसक्दा समस्या भएको ती नेताले बताए ।