झापा ।
माओवादी केन्द्रले पार्टीका विभिन्न तहमा प्रशिक्षण कक्षा सञ्चालन गर्ने गरी कार्यविधि बनाएको छ । तर, प्रशिक्षणका लागि पाठ्यक्रम भने बनाउन बाँकी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल इन्चार्ज र गिरिराजमणि पोखरेल प्रमुख रहेको स्कुल विभागले विभागका सबै तहका लागि लागू हुनेगरी कार्यविधि बनाएको हो ।
पार्टी स्थायी कमिटी बैठकमा स्कुल विभाग प्रमुख पोखरेलले कार्यविधि प्रस्ताव पेस गरेका छन् । विभागका अनुसार आधारभूत, माध्यमिक र उच्च गरी तीन वटा तहमा पार्टी स्कुल सञ्चालन गर्ने कार्यविधिमा प्रस्ताव छ । हरेक तहका लागि कार्ययोजना तथा पाठ्यक्रम बनाउने तथा पार्टी र संगठनको आवश्यकता अनुसार विशिष्ट प्रशिक्षण कक्षासमेत सञ्चालन गर्न सकिने कार्यविधिमा छ ।
विभागले हरेक वर्ष कम्तिमा एउटा खुल्ला बहस सञ्चालन गर्ने तथा संसदीय मोर्चामा भइरहेका वा हुन पर्ने बहससँग पार्टीलाई जोड्न आवश्यक विधि, विज्ञता र संयन्त्रको विकास गर्ने पनि कार्यविधिमा छ । कार्यविधिमा पार्टीको एउटा केन्द्रीय स्कुल विभाग हुने र केन्द्रीय स्कुल विभाग मातहत प्रदेश, जिल्ला, पालिका, वडा तहसम्म स्कुल विभागको संरचना रहने उल्लेख छ । केन्द्रीय स्कुल विभागले मातहतका कमिटीका लागि तहगत आधारमा पाठ्यक्रम तय गर्ने कार्यविधिमा छ ।
पार्टीका हरेक तहका स्कुल विभागले सम्बन्धित तहको सरकार र जनप्रतिनिधिसँग समन्वय गरी पार्टी नीति अनुरुप आवश्यक कक्षाहरु अघि बढाउने पनि कार्यविधिमा छ । हरेक तहका जनप्रतिनिधीहरुका लागि पार्टीको नीति तथा घोषणा पत्रमा आधारित भएर विभागले पाठ्य सामाग्री तयार पार्ने कार्यविधिमा छ ।
जनप्रतिनिधि निर्वाचित भएको तीन महिनाभित्र प्रशिक्षण दिने र हरेक वर्ष कक्षा अद्यावधिक गर्ने कार्यविधिमा छ । कार्यविधिअनुसार प्रशिक्षार्थी छनोट गर्ने काम सम्बन्धित तहको स्कुल विभागले गर्ने तथा पार्टीका सबै साधारण सदस्यले अनिवार्य रुपमा आधारभूत तहको कक्षा लिएको हुनु पर्ने कार्यविधिमा व्यवस्था छ । पार्टी सदस्य प्रदान गरेको मितिले तीन महिनाभित्र आधारभूत तहको प्रशिक्षण प्रदान गरिसक्नु पर्ने कार्यविधिमा छ ।
जनवर्गीय संगठन तथा मोर्चाहरुले आफ्नो विशिष्टताको आधारमा अलग पाठ्यक्रम तयार गर्नुपर्ने व्यवस्था छ । पार्टीमा सहभागी संगठनात्मक हैसियतका आधारमा वा खुल्ला ढंगले परीक्षा दिएर माध्यमिक र उच्च तहको प्रशिक्षण लिन सकिने कार्यविधिमा छ ।विषयवस्तु र पाठका आधारमा प्रशिक्षक छनोटको अधिकार सम्बन्धित कमिटीलाई हुने प्रस्ताव छ । केन्द्रीय स्कुल विभागले कमिटी संख्याका आधारमा प्रशिक्षक उत्पादन गर्ने प्रस्तावमा छ ।
पार्टी स्कुल विभागले वैचारिक तथा नीतिगत काम गरिरहेका देशभित्रका सामाजिक संस्था, विश्वविद्यालय, प्रतिष्ठानहरुसँग विषयगत आधारमा अन्तरक्रियात्मक तथा कार्यक्रमिक सम्बन्ध स्थापित गर्ने कार्यविधिमा प्रस्ताव छ । यसैगरी, विभागले विदेशस्थित भाइचारा तथा मित्र पार्टीहरुका स्कुल विभागसँग सम्बन्ध स्थापित गरेर काम अगाडि बढाउने प्रस्ताव छ । विभागले मुलुक भित्रका अन्य राजनीतिक दलका स्कुल विभागसँग मित्रता र समन्वयात्मक आदान प्रदानको सम्बन्ध राख्ने पनि कार्यविधिमा प्रस्ताव छ ।