काँकडभिट्टा ।

नेपाली काँग्रेसको पालिका अन्र्तगतको अधिवेशनमा  मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम  अनुसार पनेरुले २ सय ४८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् भने  उनका प्रतिस्पर्धी नवीन बरालले २ सय ३३ मत प्राप्त गरे ।

काँग्रेस प्रवक्ता विश्वप्रकाशको गृह नगरमा कृष्णप्रसाद सिटौला पक्षका पनेरुले जित हासिल गरेका छन् । पनेरुको जीतले  विश्वप्रकाश शर्मा पक्षलाई धक्का पुगेको साथै पार्टीको जिल्ला तथा केन्द्रीय तहको महाधिवेशनमा समेत प्रभाव पर्ने  आकलन नेताहरुले गर्न थालेका छन् । उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३ सय ८० मत प्राप्त गरेका छन् भने खत्रीले ३ सय ४३ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १ सय २६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३ सय २७ मत तथा लिम्बूले २ सय ६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १ सय ५७ तथा लक्ष्मी काफ्लेले १ सय २५ मत प्राप्त गरेका छन् ।

सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् । धमलाले २ सय ९६ मत तथा भट्टराईले २ सय १३ मत प्राप्त गरेका छन् । सहसचिवकै उम्मेद्वार चन्दन गौतमले १ सय ६८ मत तथा नवीन खतिवडाले १ सय ३५, लोकेन्द्र थपलियाले ७१ मत मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४ सय ९९ मतदाता मध्ये ४ सय ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।