मेचीनगर ।

 नेपाली कांग्रेसको मेचीनगर नगर सभापतिका लागि युवा नेताद्वय नविन बराल र सुवेशकुमार पनेरु (सुदय) बीच भिडन्त हुने सम्भावना बढेको छ । नगर सभापति सर्वसम्मत छनोट गर्ने नेतृत्वको प्रयास सफल हुन नसकेपछि बराल र पनेरुबीच चुनावी भिड्न्त हुने निश्चित भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

नगर सभापतिका ६ जना आकांक्षी मध्ये ५ जनाले सहमतिका माध्यमबाट नेतृत्व छनोट गर्न माने पनि पनेरुले भने चुनावमा नै जाने इच्छा देखाएकाले नगर सभापतिमा मतदान नै हुने स्थिति आएको नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति मणिकुमार उप्रेतीले बताए । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुई मेचीनगर नगरपालिकाका निर्वाचित वडा अध्यक्षहरु हुन् । बराल मेचीनगर ४ र पनेरु मेचीनगर १० का वडा अध्यक्ष हुन् ।

सभापतिका अन्य आकांक्षीहरु धनकाजी खत्री र योगेन थापालाई उपसभापतिमा बस्न नेतृत्वले आग्रह गरेको बुझिएको छ । त्यस्तै, नगर सभापतिकै दाबी गरिरहेका सुरेन्द्र बुढाथोकी र पुष्प कार्कीलाई क्षेत्रीय समिति वा अन्य कुनै तहको पदाधिकारीमा लैजाने सहमति भएको कांग्रेस स्रोतले बताएको छ । नगर सभापतिमा चुनाव नै हुने भएपछि नगरका अन्य पदाधिकारीमा समेत चुनाव हुने निश्चित भएको छ । दुई उपसभापतिका लागि ५ जना चुनावी मैदानमा छन् भने दुई सचिवका लागि ४ जना छन् । त्यस्तै, दुई सहसचिवका लागि ६ जनाले दाबी गरेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँ तथा नगर अधिवेशन आजबाट सुरु हुँदैछ । निर्वाचन समितिले दिएको जानकारी अनुसार आज उम्मेद्वारी दर्ता र चुनाव नै हुने भए १० बिहान ८ बजेदेखि मतदान हुनेछ ।